काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी सुदूरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) बीचमा सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने सम्झौता भएको छ । सम्झौतासम्बन्धी कार्यक्रममा सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगायत अन्य कर्मचारीको उपस्थिति रहेको कार्यक्रममा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यको प्रतिव्यक्ति १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा र १ लाख रुपैयाँ बराबरको औषधोपचार बीमाको व्यवस्था गरेको बताइएको छ । सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू उत्साहित भएको बताए । सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदूरपश्चिम नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान् खेलाडी उत्पादन गर्ने उर्वर भूमिका रूपमा रहँदै आएको उल्लेख गर्दै विशिष्ट प्रकारको संस्कृति, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यले भरिपूर्ण प्रदेशको गौरवलाई बोकेको टिम सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले कम्पनी हर्षित भएको बताए ।