तपैंलाई थाहै छ कि जो आउनेवाला छ, त्यो तब मात्र आउँछ, जब दुईटा शर्त पूरा हुन्छन् । एक, जो आउनेवाला छ त्यो आफैं आउन तयार हुनुपर्यो । दुई, त्यो आउने वातावरण बन्नुपर्यो । त्यो तपाईंको प्रेमी वा प्रेमिका होस् या हाम्रा राजनीतिक दलहरूको समाजवाद, सबैमा यही लागू हुन्छ । समाजवाद पनि यी दुई शर्त पूरा भएर आउने बेला भएपछि आउला । तर म त्यसलाई स्वागत गर्न यति धेरै उत्सुक र उत्ताउलो भएको छु कि त्यो कहिले आउँछ र म त्यसमा फुत्त छिरौंला जस्तो भा छ भन्या !
कोइली तब मात्र कुहु–कुहु गर्छ, जब उसको समय आउँछ । कोपिलाहरू त्यतिबेला मात्र फक्रन्छन्, जब उसको समय हुन्छ । यो समाजवाद ल्याउने वा आउने कुरामा पनि सरकार वा दलको हतारोले मात्र केही पनि हुन्न । त्यसैले समाजवाद यो अहिलेको जोकतन्त्रजस्तो लोकतन्त्रको आत्मालाई शान्ति प्राप्त नभएसम्म पक्का आउँदैन । दलहरूको मति, सरकारको गति र मुलुकको क्षति हेर्दा समाजवादलाई कुर्दा कुर्दै पूरै पुस्ता बित्ला जस्तो पो छ । बाह्र वर्षमा खोलो फर्कन्छ भन्छन् । यहाँ सत्ताको खोलो त चाँडै चाँडै फर्कन्छ, तर समाजवादमा पुग्न चाहिँ कतिओटा बाह्र वर्ष पुग्नुपर्ने हो, कसैलाई पनि थाहा छैन ।
त्यसैले समाजवाद ल्याउने भनेर नेताहरू जतिसुकै कुर्ली कुर्ली भाषण गरे पनि समाजवाद त्यतिखेर मात्र आउँछ, जब उसलाई आउनु छ । विरोधीहरू कुर्लिए वा अहिले बंगलादेशमा सडकमा मान्छे उर्लिए भन्दैमा नेपालमा समाजवाद आइहाल्ने चैं हुँदैन ।
यो तत्त्वज्ञान भए पनि मलाई समाजवाद पाउने हुटहुटीले भने छाड्दै छाडेन । यसैबीच सुनेँ, एक नेता भन्दै थिए– उनको दलले देशलाई समाजवादमा लैजान्छ रे । पहिले ध्यान दिएको रहेनछु, अरू दलका नेता पनि त्यसै भन्दा रहेछन् । समाजवाद आउने होइन रहेछ, हाम्रा नेताले त्यहाँ पुर्याउने रहेछन् ।
मलाई पनि जसरी नि समाजवादको यात्रामा आफै जाने तीव्र इच्छा भयो । र एक दिन समाजवादमा लैजाने यात्रुसेवाका ड्राइभरहरूमध्ये एक अर्थात् एक ठूला दलका ठूलै नेताकहाँ ढोका ढकढक्याउन गएँ । भित्र ठूलै भीड थियो । धेरै बेर कुरेपछि नेताजीले दर्शन भेट दिए । मेरो कुरा सुनेपछि उनले मलाई भने, ‘अहिले समाजवादमा जाने बस हाम्रै दलका नेता कार्यकर्ताले भरिइसकेको छ । तपाईं पछि आउँदै गर्नुहोला ।’
म फेरि अर्को ठूलो दलका नेताकहाँ गुहार्न पुगेँ । उनले पनि जनतालाई समाजवादको यात्रामा लिएर जाने भनेर भन्दै आइरहेका छन् । मेरो कुरा सुनेपछि उनले भने, ‘हामी त अहिले एक किसिमले प्रतिपक्षमा छौं । हामीले दशकौंदेखि देशलाई समाजवादमा लैजानुपर्छ भनेर भनिरहेकै छौं । बरु तपाईं पनि सरकारलाई गएर गुहार्नुस् । नभए राष्ट्रपतिज्यूलाई भेटेर भनेर हुन्छ कि अध्यादेश जारी गर्न भनेर हुन्छ, देशमा समाजवाद त ल्याउनैपर्छ अथवा देशलाई नै समाजवादमा लैजानै पर्छ । तपाईं ढुक्क हुनुहोस्, हामी कुनै न कुनै दिन देशमा समाजवाद ल्याएरै छाड्छौं ।’
म दिक्क भएर त्यहाँबाट पनि फर्किएँ र लागेँ नयाँ नयाँ दलहरूका नयाँ नयाँ नेताहरूको ढोका ढक्ढक्याउन । मैले उनीहरूलाई संविधानमा लेखिएको समाजवादको यात्रामा मलाई पनि साथै लैजान अनुरोध गरेँ । उनीहरूले भने, ‘हामी आफै कुन बसले समाजवादको यात्रामा लैजान्छ भनेर बुझ्न बल्ल त लोकल बसमा यात्रा शुरू गरेका छौं । निलो पोतेको बसले काम दिएन । त्यसैले समाजवादमा लैजाने बस पत्ता लागेपछि हामी आफै तपाईंकोमा आउँला र तपाईंहरूको सहयोग रह्यो भने ८४ मै समाजवादमा पुर्याउँला ।’
मैले केही बुझिनँ । उनीहरूको कुरा सुनेर म झन् अलमलमा परेँ । मैले ठानेँ, आखिरमा समाजवादमा पुग्ने बाटो त उही सिंहदरबार भित्रैै होला । त्यहाँभित्र छिरेपछि त समाजवादमा कसो नुपुगिएला ? तर सिंहदरबारमा जान समाजवादभन्दा कडा सुरक्षावाद पो रहेछ । मसँग भित्र छिर्ने पास थिएन । पहरेदारले भित्र छिर्नै दिएनन् ।
म बाहिरैबाट भए पनि समाजवाद हेर्छु भनेर उभिइरहेँ । गेटबाट पहिले कर्मचारी छिरे, नेता पसे, अनि उनका आसेपासे पसे । त्यसपछि लगत्तै विभिन्न दलका कार्यकर्ता घुसे । त्यसपछि चम्चाहरू छिरे । अनि त के ? एक एक गरेर दलाल, भ्रष्टाचार, अनाचार, पाखण्ड, झुठ सँगसँगै जस्तो भित्र छिरे । गरीबी, लाचारी, बिमारी, बेकारी सबै सबै सिंहदरबार बाहिरै रहे । भित्र पसेका जति समाजवादमा जाने भनिएको बसमा चढ्न थाले । चक्कर लगाउँदै, लडखडाउँदै, घिस्रिँदै, कोचाकोच गर्दै । यसरी सबै सबै समाजवादको यात्रामा गइरहेका थिए । पूरै देश समाजवादभित्र गइरहेको थियो ।
ओहो ! यहाँ त गजबको समाजवाद रहेछ भनेर सोच्दै थिएँ, एक जना प्रहरीले मेरो सात्तो जानेगरी कराए, ‘भाग यहाँबाट । समाजवादको यो महान् यात्रा बिथोल्न आएको हो कि क्या हो ? समाजवादमा जाने यो बसमा तिम्रा लागि सिट आरक्षित छैन त । अनि यहाँ किन आएको ?’
तैपनि यसोउसो गरेर जसोतसो भित्र छिरेरै छाडेँ । तर म त सरदारजीको दारीभित्र हराएको जुम्राझैं सिंहदरबारभित्रै हराएँ । त्यहाँभित्र समाजवादको गजब अभ्यास चलिरहेको रहेछ । नियुक्ति, सिफारिस, ठेक्कापट्टा, सहयोग, पुरस्कार धमाधम वितरण भइरहेको थियो । समाजवादको पाठ पठाउने नेताजीहरू पनि सबै सबै त्यै सत्कर्ममा व्यस्त थिए । टेबुलमा दास क्यापिटल, बीपी र समाजवाद, पुष्पलाल, मदन भण्डारी, राममनोहर लोहियाका किताबहरू पनि सजाएर लहरै राखिएका थिए । तर नियुक्ति, सिफारिस, ठेक्कापट्टा, सहयोग, पुरस्कार वितरण गर्नेहरू ती किताबतिर हेर्दा पनि हेर्दैनथे ।
विभिन्न दलका कार्यकर्ताले भरिएका मन्त्रालय, मन्त्री र सचिवका कोठाचोटामा जहाँ पुगे पनि म चाहिँ घोक्र्याइएँ, धक्का लगाएर धपाइएँ । समाजवादको नयाँ अवतार देखेपछि म पनि त्यहाँबाट ज्यान जोगाउँदै खुसुक्क निक्लिएँ र निराश हुँदै लुरुलुरु आफ्नै डेरामा फर्किएँ ।
डेरामा फर्किंदै गर्दा मेरो दिमागमा बल्ल बत्ती बल्यो र समाजवादको सही अर्थ पत्ता लाग्यो । समाजवाद भन्ने शब्द त हिन्दीबाट पो आएको रहेछ । हिन्दीमा वाद भनेको पछि हो । अर्थात् पहिले आफ्नो र आफ्नाका लागि अनि ‘समाज वाद मे’ । त्यसैले यहाँ समाजका लागि गर्नुपर्ने काम पछि गर्ने वाद नै समाजवाद रहेछ ।