डा. बाबुराम ज्ञवाली
सहकारिताको अर्थ हुन्छ, सँगै कार्य गर्नु । अङ्ग्रेजी कोअपरेशनमा ‘को’ अर्थात् सँगै र ‘अपरेशन’ अर्थात् काम गर्नु भन्ने हुन्छ । त्यसैले छोटकरीमा सहकारीलाई को–अप्स पनि भन्ने गरिन्छ । न्यून आय वर्गको हितलाई ध्यानमा राखी सहकारी संस्थाको स्थापना गरिन्छ । सहकारी संस्था स्वावलम्बन (सेल्फ हेल्प), जिम्मेवारी (सेल्फ रेस्पोन्सीबिलिटी), प्रजातन्त्र र समानता (डेमोक्रेसी एण्ड इक्वालिटी), समता (इक्विटी) र एकता (सोलिडारिटी)का आधारमा स्थापित गरिन्छ । यो आफैले आफैलाई सहयोग गर्ने एक सामूहिक तरीका हो ।
यसका चारओटा नैतिक मूल्यमा इमानदारी, खुलापन, सामाजिक उत्तरदायित्त्व र अरूको हेरचाह रहेका छन् । वास्तवमा सहकारिताका नैतिक मूल्य आधारभूत मूल्यभन्दा पनि महत्त्वपूर्ण छन् ।
सहकारिताको वर्तमान स्वरूप औद्योगिक क्रान्तिपछि निर्धारित भएको हो । औद्योगिक क्रान्तिले गर्दा उत्पादन र वितरणका प्राचीन प्रणालीहरू विखण्डन हुँदै गए । आय वितरणको नयाँ प्रणालीमा श्रमिकको शोषण हुन थाल्यो । पूँजीपति वर्गसँग धन सञ्चय हुँदै गयो । बेलायतबाट शुरू भएको औद्योगिक क्रान्तिका खराबीहरूले त्यहाँका श्रमिकहरू पनि कुपोषण, न्यून आय र आय असमानताको मारमा परेका थिए । मजदूरहरूलाई त्यहाँको एक कपडा कारखाना मालिकले सञ्चालन गरेको पसलबाट सामान खरीद गर्न पनि अपर्याप्त हुने गथ्र्यो । सामान पनि राम्रो प्राप्त हुँदैनथ्यो । सधैं उधारोमा सामान लिने र ज्याला त्यहाँ तिर्दा पनि अपुग भएर सधैं असन्तुष्ट जीवनयापन गर्दथे । त्यसैले आफ्ना समस्याहरू समाधानका लागि कपडा बुनकरहरूले एक समिति बनाएका थिए, जसले आफ्ना सदस्यलाई एउटा मिलबाट पिठो खरीद गरेर सहुलियत दरमा उपलब्ध गराउँथे । यस समितिले राम्रो पीठो सस्तोमा उपलब्ध गराउने कामबाहेक श्रमिकहरूको रकम राखिदिने र आवश्यक परेकाहरूलाई ऋण सापटी दिने पनि गथ्र्यो । न्यू टाउनमा रहेको त्यो मिल रबर्ट ओवेनका ससुराको थियो । ओवेनले त्यो मिल किनेपछि श्रमिकहरूको हितमा वस्तुको गुणस्तर र मूल्य दुवैमा सुधार गरे । श्रमिकहरूका लागि विभिन्न स्थानमा उनीहरूको सहयोगले उनैका लागि पसलहरू खोल्ने काम गरे । पसलहरूको स्वामित्वमा श्रमिकहरूलाई सहभागी गराउँदै गए र उनीहरूले पसलको नाफाबाट अंश पाउन थाले । यस आधारमा सहकार्यका केही सिद्धान्त विकास गरिए यसको नाम शुरूका २८ जना बुनकरको सम्मानमा राशडेल सिद्धान्त भनियो ।
केवल २८ जनाका लागि खोलिएको यो पसल शुरूमा साँझ एक घण्टा खुल्थ्यो । तर, यसमा भीड बढ्न थाल्यो र यसलाई दिनभरि पनि सञ्चालन गर्नुपर्ने भयो । यसमा नगद कारोबार हुन्थ्यो । यसले तुरन्तै नाफा आर्जन गरिहाल्यो भने सदस्यहरूको न्यून ज्यालाबाट पनि बचत प्रारम्भ भयो । उनीहरूको जीवनस्तरमा विस्तारै सुधार आयो । तर, उनीहरूले यसलाई व्यावसायिक संस्था नबनाएर सेवामुखी संस्थाका रूपमा विकास गर्दै लगे । यसमा केवल एक जना महिला मात्र सदस्य थिइन् । यसको काम यति सफल भयो कि १० वर्षमा यसै सिद्धान्तका आधारमा संयुक्त अधिराज्यमा हजार सहकारी पसलको स्थापना भयो ।
यूरोपमा निरन्तर सहकारीका सिद्धान्तको प्रयोग, परिमार्जन र विस्तार हुँदै गयो । यस क्षेत्रमा सबैभन्दा बढी प्रसिद्धि पाउने कार्य बेलायत र जर्मनी दुई देशले गरेका छन् । जर्मनमा साहूहरूको शोषणबाट मुक्त गर्नका लागि श्रमिकहरूलाई बचत कार्यक्रम प्रारम्भ गरियो । यो कार्य राइफेन्सनले शुरू गरेको भनिन्छ ।
संयुक्त राष्ट्रसङ्घले पनि यसमा रुचि लिन थालेपछि यसको अन्तरराष्ट्रिय मान्यतामा वृद्धि हुँदै गयो ।
एक देशबाट अर्को देशमा जुन गतिमा सहकारी संस्थाहरूको स्थापनाको लहर फैलियो त्यसलाई त्यहाँ सहकारी आन्दोलन भन्ने गरिन्छ । यस आन्दोलनलाई सघाउन बेलायत इजरायल आदि देशमा सानाठूला संस्थाहरू स्थापना गरिएका छन् ।
इजरायलका सहकारीबाट प्रभावित नेपालका राजनीतिक नेताहरूले नेपालमा यसलाई प्रवेश गराए । चितवनमा बखानसिंह गुरुङको नेतृत्वमा सहकारीको श्रीगणेश भयो । आज नेपालमा सहकारीहरूले निकै प्रशंसनीय काम गरेका छन् ।
साझा सम्पत्ति (कमनपूल रिसोर्स)
साझा सम्पत्ति एक प्रकारको सहकारिता नै हो । तर, यसको विकास मुख्यतः अल्पविकसित देशहरूमा भएको छ । यसका अन्तरराष्ट्रिय सिद्धान्त निर्माण हुन बाँकी नै छन् । तर, यसको उद्देश्य समुदायले आफै मिलेर सम्पत्तिको निर्माण, उपयोग र अझ बढी आय आर्जनमा यसको प्रयोग गर्ने सङ्गठन र यसको सम्पत्ति नै कमनपूल रिसोर्स (साझा सम्पत्ति) हो । त्यसैले यो सहकारीभन्दा थोरै फरक छ । सहकारीमा थोरै भए पनि सम्पत्ति छ भन्ने मान्यता छ । यसमा सम्पत्तिको निर्माण गरिन्छ । नेपालमा कमनपूल प्रकृतिका सहकारी संस्था धेरै छन् । उदाहरणका लागि सामुदायिक इनार, जङ्गल र सामुदायिक सिँचाइ व्यवस्था । आपसमा मिलेर समुदायले सबैको सहजता, उन्नति र अनिवार्य आवश्यकता पूरा गर्न त्यस सम्पत्तिको उपयोग गरिरहेका छन् । कतिपय यस्ता साझा सम्पत्ति विनादर्ता सञ्चालित भइरहेका हुन सक्छन् । कतिपय दर्ता भई सञ्चालित रहेका हुन सक्छन् । कतिपय यस्ता संस्था सहकारिता वा अन्य विधिमा सञ्चालित हुन सक्छन् ।
यसलाई एक सिद्धान्तका रूपमा अर्थशास्त्रमा परिचित गराउने श्रेय इलिनोर ओष्ट्रमलाई जान्छ । उनलाई यस योगदानबापत नोबेल पुरस्कारले सम्मानित गरिएको छ । उनले नेपालका सिँचाइ प्रणाली अध्ययन गरेर साझा सम्पत्तिको बारेमा निम्नलिखित सिद्धान्त प्राप्त गरेकी छन् :
१. यस्ता सम्पत्ति (कमनपूल रिसोर्स) को क्षेत्र र सीमा राम्ररी परिभाषित हुन्छ ।
२. स्थानीयस्तरमा यस्ता सम्पत्तिसँगै त्यसका नियमहरू स्वतः विकसित गरिएका हुन्छन् ।
३. निर्णय प्रक्रियामा त्यस सम्पत्ति प्रयोगकर्ता सदस्यहरूको सहभागिता र सक्रियता हुन्छ ।
४. यस्तो सम्पत्तिमा अनुगमन र रेखदेख व्यवस्था प्रभावकारी रूपमा विकास गरिएका हुन्छन् ।
५. विवाद समाधानका लागि संयन्त्र निर्माण गरिएको हुन्छ ।
६. आफै स्थापना र विकास भए तापनि यस्ता संस्थाको आधिकारिकता कुनै अन्य नामले भए पनि उच्च निकायद्वारा अनुमोदित भएको पाइन्छ ।
७. ठूला साझा सम्पत्ति संस्थाहरूमा स्तरीकरणको व्यवस्था गरिएको हुन्छ । यसले व्यवस्थापन प्रभावकारी हुन जान्छ । यसको व्यवस्थापनका अनेक स्तरहरू हुन्छन् ।
यस्ता सम्पत्तिको राम्रो उदाहरणमध्ये एक हो रूपन्देहीको छत्तीस कुलापानी सहकारी संस्था । किसानको परिश्रम, पानी वितरण, संस्थागत कार्यप्रणाली, सिँचाइ प्रणालीको मर्मत स्याहारका सुदृढ नियम र जनसहभागिता परिचालनका दृष्टिले यो कुलापानी सिँचाइ प्रणाली विश्वमा उदाहरणीय मानिएको छ ।
तिनाउ पानीको उपयोगको सम्बन्धमा थारू बासिन्दाहरूले शुरू गरेको परम्परालाई बसाइ सरेर आएका बासिन्दाले उनीहरूसँग मिलेर परिमार्जन गर्दै संस्थागत बनाए । उनीहरूले यसलाई समुदायको सम्पत्तिका रूपमा विकसित गर्ने प्रविधि विकास गरे । सिँचाइ प्रणालीलाई जनसहभागितामूलक बनाउने, नियम कानून निर्माण गर्ने विधिहरू वैज्ञानिक र सर्वमान्य हुँदै गए । आजको रूपन्देही विकासमा यस कमनपूल रिसोर्स सिद्धान्तको ठूलो योगदान छ भन्न सकिन्छ । तिनाउ नदी नै यहाँ सम्पन्नताको स्रोत हो ।
सहकारिता विकासको कुरा गर्दा धनीले निर्धनलाई शोषण गरेको भन्ने कुरा निकै महत्त्व दिएर भन्ने गरिन्छ । यसबाट सहकारिताको आर्थिक सिद्धान्त एक प्रतिक्रियाका रूपमा आएको हो भन्ने भान पर्न जान्छ । तर, कमनपूल सिद्धान्त कुनै प्रतिक्रिया होइन । यो प्रकृतिसँग एक प्रकारको तालमेल हो । मानवीय श्रम र शीपको सङ्कलन र उपयोग हो । आपसमा सहकार्य हो । सबैलाई निश्चित नियमले सक्रिय बनाउनु हो । प्रत्येक सदस्यको योगदानअनुरूप प्रतिफल दिनु पनि यस प्रकारका संस्थाहरूको उद्देश्य हो । वितरणमा न्यायपूर्णता होस्, त्यस कुराको पनि अनुगमन पनि हो । सबैलाई साथमा लिएर हिँड्ने र सम्पत्ति बढाउने सिद्धान्त हो कमनपूल रिसोर्स ।
लेखक बुटवल बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक हुन् ।