काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ५९ दशमलव ३७ प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४० दशमलव ६३ प्रतिशत स्वामित्व ४९ प्रतिशत कायम गर्न लागेको हो ।
कम्पनीले शेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव गत मंसिर ६ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख समेत भइसकेको जानकारी कम्पनीले दिएको छ ।
पूँजी संरचना परिवर्तनका लागि आगामी माघ २२ गतेसम्म कम्पनीको रेकर्डमा संस्थापक शेयरधनी रहेको शेयरको संरचना परिवर्तन गरिने भनाइ कम्पनीको छ । सो मितिसम्म सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर नामसारी गरिसक्नुपर्नेछ ।
साथै शेयर संरचना परिवर्तन गर्न नचाहने शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय मकवानपुर, हेटौडामा लिखित जानकारी पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र कुनै जानकारी प्राप्त नभएमा कम्पनीले कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा संस्थापक शेयर परिवर्तन गर्ने प्रष्ट पारेको छ ।