काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार माघ महीनाको तुलनामा फागुन महीनामा फण्डको नाफासँगै न्याभ वृद्धि भएको छ । फण्डको न्याभ माघ मसान्तमा ११ रुपैयाँ २५ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३० पैसा पुगेको हो ।
त्यस्तै फण्डको नाफा पनि माघको तुलनामा फागुनमा ९ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तसम्ममा फण्डले रू. ४ करोड ४८ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ९१ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
माघ मसान्तमा फण्डको आम्दानी रू. ५ करोड ५८ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ६ करोड १७ लाख पुगेको छ । त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा सूचीकृत शेयरमा रू. ६२ करोड २६ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६४ करोड ८१ लाख पुर्याएको हो ।
फागुन मसान्तसम्ममा फण्डले मुद्दति निक्षेपमा रू. ३ करोड लगानी गरेको छ । सो अवधिमा फण्डको चालु सम्पत्ति रू. १० करोड २९ लाख छ ।