काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदैछन् । पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा विभिन्न झाँकी प्रदर्शन गरिएका थिए । कार्यक्रम हुनुअघि रत्नपार्कदेखि टुँडिखेलसम्म र्याली निकालिएको थियो ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यो पर्वलाई तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाउने गरेका छन् ।
आजबाट शुरु भएको नयाँ वर्षलाई ‘सर्प’ वर्षका रूपमा मनाइने भएको छ । तामाङ समुदायले १२ वटा जीवजन्तुका नामबाट वर्ष विभाजन गरेका छन् ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्छन् ।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।