बारा–पर्सा औद्योगिक कोरिडोरलाई आधार बनाएर क्रियाशील जीतपुरसिमरा उद्योग वाणिज्य संघले आउँदो फागुन १८ देखि २९ गतेसम्म ‘जीतपुरसिमरा महोत्सव–२०८०’ सञ्चालन गर्दै छ । उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनको उद्देश्यले गर्न लागिएको यो महोत्सवको नेतृत्व संघका अध्यक्ष मोहन शर्मा ले गरेका छन् । पेशाले पर्यटन व्यवसायी शर्मा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको पर्यटन, हवाई तथा यातायात समितिको अध्यक्ष पनि हुन् । प्रस्तुत छ, यस क्षेत्रमा उद्यम तथा पर्यटनको अवस्था, महोत्सवले यसको प्रवर्द्धनमा पुर्याउन सक्ने योगदान लगायत विषयमा आर्थिक अभियानका ओमप्रकाश खनाल ले अध्यक्ष शर्मासँग गरेको कुराकानीको सम्पादित अंश :
बारा–पर्सा औद्योगिक कोरिडोरस्थित यो क्षेत्रमा गर्न लागिएको महोत्सवको उद्देश्य के हो ?
वीरगञ्ज–पथलैयामा पर्ने जीतपुरसिमरा औद्योगिक कोरिडोर हो । यहाँ ठूला उद्योग, बहुराष्ट्रिय कम्पनीदेखि थुप्रै मझौला र साना उद्योग छन् । यो क्षेत्रमा पर्यटनको पनि पर्याप्त सम्भावना छ । खासगरी कोरोना महामारीयता उत्पादन र व्यापार व्यवसायको लागत बढेको छ । समग्र बजार घटेको छ । यस्तो अवस्थामा उद्योग, व्यापारसँगै यहाँको पर्यटकीय गतिविधि कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने मुख्य अभिप्रायबाटै महोत्सव आयोजना गर्न लागिएको हो ।
चारैतिर उद्योग व्यापारको अवस्थाबारे चिन्ता प्रकट भइरहेको छ । बजार बर्बादै भयो भन्ने खालका कुरा सुनिन्छन् । यस्तो अवस्थामा महोत्सवले खस्किएको बजार लयमा ल्याउन कसरी योगदान पुर्याउन सक्ला ?
हामीले उत्पादन र पर्यटनलाई दिगो बनाउने उद्देश्य राखेका छौं । यी क्षेत्रलाई प्रदर्शनीमा जोडेर प्रवर्द्धन गर्ने उद्देश्य छ । यस्ता प्रयासलाई निरन्तरता दिने योजना छ । हामीकहाँ औद्योगिक र व्यापारिक मेलालाई मनोरञ्जनका लागि रमाइलो मेलाको रूपमा मात्र लिने परिपाटी छ । हामी त्यस्तो गर्दैनौं । उद्योग, व्यापारको प्रदर्शनी हुन्छ । योसँगै प्रदेशको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्िवक महत्त्व उजागर गर्छौं । कृषि मधेशको अर्थतन्त्रको विशेषता र आधार हो । यी सबै पक्षलाई उत्पादन र पर्यटनसँग जोड्ने योजनामा काम भइरहेको छ । स्थानीय जातजाति र समुदायका विशेष खानाका परिकारलाई पनि महोत्सवको माध्यमबाट प्रवर्द्धन गर्दै छौं । यही महोत्सवको बीचमा ल्होछार र महाशिवरात्रि समेत पर्ने भएकाले यीसमेत महोत्सवका आकर्षणसँगै धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनका उपाय हुनेछन् । शिवरात्रिकै दिनमा नेपाली सेना दिवस पर्ने भएकाले सेनाको प्रस्तुति पनि महोत्सवको आकर्षण हुनेगरी तयारी अघि बढाइएको छ ।
- स्थानीय सरकारहरू कर उठाउन मात्र बढी तल्लीन देखिएका छन् ।
- मधेशमा धार्मिक पर्यटन, पर्यापर्यटनसँगै कृषि पर्यटनको सम्भावना छ ।
- महोत्सवलाई भारतको आयोध्यासँग जोड्ने योजना छ ।
प्राय: यस्ता मेला महोत्सव रमाइलो मेलाको रूपमा सीमित भएको पाइन्छ । यसलाई आर्थिक समृद्धिसँग जोड्ने योजना के छ ?
यो उत्पादन र पर्यटकीय सम्भावनाको बजारीकरणको ठाउँ हुनेछ । स्थानीय उत्पादनको प्रदर्शनी हुन्छ । पर्यटकीय गन्तव्यहरूको विशेषतासहितको चिनारी राख्दै छौं । महोत्सवलाई भारतको आयोध्यासँग जोड्ने योजना छ । अयोध्यामा दैनिक २ लाख पर्यटक आउँछन् । सीताको जन्मस्थलको दर्शनविना रामको जन्मस्थल अयोध्याको दर्शन पूर्ण हुँदैन भन्ने मान्यता प्रचार गर्न सकियो र त्यहाँबाट २० प्रतिशतमात्र पर्यटक ल्याउन सकियो भने पनि त्यो हाम्रा लागि ठूलो उपलब्धि हुन सक्दछ । ती पर्यटकलाई वीरगञ्जबाट भित्त्याएर यो महोत्सव देखाउँदै जनकपुर पुर्याउने योजनामा काम भइरहेको छ । अहिले माध्यमिक तहको अध्ययन सक्नेबित्तिकै युवाहरू विदेशिने प्रवृत्ति बढेको छ । यो प्रवृत्ति रोक्न स्वदेशमै बसेर पनि काम गर्न सक्ने अवसर छ भन्ने सन्देश दिन समेत महोत्सव महत्त्वपूर्ण हुने अपेक्षा हामीले गरेका छौं ।
तपाईं पर्यटन व्यवसायी पनि हुनुहुन्छ । पर्यटन क्षेत्रमा कस्ता सम्भावना र चुनौती देख्नुभएको छ ?
जहाँ सम्भावना हुन्छन्, त्यहाँ चुनौती पनि देखिन्छन् । मधेश संघीय राजधानीमा हुने आपूर्तिको मुख्य मार्ग हो । हामीकहाँ प्रत्येक आधा घण्टाको दूरीमा फरक मौसमको अनुभव गर्न सकिन्छ । प्राकृतिक सुन्दरतामा अगाडि छौं । कला र संस्कृतिको विविधता छ । यसको उपयोगमा निजीक्षेत्रको प्रयासमात्र पर्याप्त हुँदैन । प्रवर्द्धनका लागि तहगत सरकारले निजीक्षेत्रसँग साझेदारी गर्नुपर्दछ । यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धनका लागि तहगत सरकारले गर्नुपर्ने काम अपेक्षित रूपमा प्रभावकारी हुन सकेको छैन । सरकारले गर्नुपर्ने काम निजीक्षेत्रले गरिरहेको छ । हामीले गरिरहेका यस्ता कामको स्वामित्व सरकारले लिनुपर्दछ । स्थानीय सरकारहरू कर उठाउन मात्र बढी तल्लीन देखिएका छन् । यसैमा अलमल भइरहेको अवस्था छ । मधेशमा धार्मिक पर्यटन, पर्यापर्यटनसँगै कृषि पर्यटनको सम्भावना छ । चुरेको संरक्षणसँगै यसलाई पर्यटकीय दृष्टिकोणबाट पनि अघि बढाउन सकिने पर्याप्त आधार छन् । यसमा सरकार र निजीक्षेत्रबीच साझेदारी र सहकार्यको खाँचो छ । हालै जीतपुरसिमरा उपमहानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन चारओटा गाडी किन्ने प्रक्रिया अगाडि बढाएको छ । यस्तो सकारात्मक र रचनात्मक पहलको अनुसरण अन्य पालिकाहरूबाट हुनुपर्दछ ।
यो महोत्सवमा तहगत सरकारको सहभागिता कुन रूपमा हुँदै छ ?
यो जीतपुरसिमरा क्षेत्रको मात्र महोत्सव होइन, यसलाई त समग्र मधेश र देशकै अर्थतन्त्रलाई सबल बनाउने अभियानको शुरुआतको रूपमा बुझिनुपर्दछ । यसमा सबै पक्ष र सरोकारवालाको सक्रिय सहभागिता हुनुपर्दछ । यसका लागि महोत्सव आयोजक मूल समिति र अन्य समितिहरू बनाएर जिम्मेवारी बाँडफाँट भएको छ । यसमा हामीले स्थानीय, प्रदेश तथा संघ सरकार र सरोकारका निकायहरूलाई सहयोग/सहकार्यको आग्रह गरेका छौं ।