काठमाडौं । स्टार्टअप डिस्कभरी एसियाले जलवायु परिवर्तनका जोखिम न्यूनिकरणमा सशक्तीकरण ल्याउने उद्देश्यले नेपालका नवप्रवर्तनहरू बिच 'क्लाइमेट च्याम्पियन' प्रतियोगिता आयोजना गर्दै छ ।
अजरबैजानको राजधानी बाकुमा वातावरण परिवर्तनसम्बन्धी वार्षिक सम्मेलन हुन लागेको समयमा नेपालमा पनि 'क्लाइमेट च्याम्पियन' प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । १२२ आवेदनकर्तामध्ये छानिएका ७ प्रतिस्पर्धीले यही कात्तिक २८ गते निर्णायक मण्डलसामु आफ्ना प्रस्तुति दिँदै अन्तिम प्रतिस्पर्धा गर्नेछन् । जसको उद्देश्य खाद्य प्रणाली, विद्युतीय यातायात, पानी र सरसफाइ, विपद् तयारी र प्रतिक्रिया, वातावरणीय परिवर्तनका लागि डिजिटाइजेसन, सफा र नविकरणीय ऊर्जा र उत्पादनजस्ता महत्वपूर्ण क्षेत्रहरूमा काम गर्ने व्यक्ति र संस्थालाई सशक्त बनाउनु रहेको छ ।
उक्त कार्यक्रम ललितपुरको सानेपा स्थित इडेन एम्फिथिएटरमा दिउँसो २ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। उक्त प्रतिस्पर्धाको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।
विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए तापनि वातावरणीय परिवर्तन र त्यसका जोखिमहरूबाट संवेदनशील देशहरू पर्छ । वातावरणीय जोखिम सूचकांकले सन् २००० देखि २०१९ सम्म नेपाललाई वातावरणीय परिवर्तनबाट सर्वाधिक प्रभावित देशहरूको १०औं स्थानमा राखेको छ। नेपालले वातावरणीय परिवर्तनको जोखिमलाई कम गर्न सन् २०४५ सम्म नेट-जीरो उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको छ । यस्ता लक्ष्य प्राप्तिका लागि प्रतियोगिता प्रभावकारी बन्ने आयोजकले विश्वास लिएको छ ।