६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० जनालाई प्रतिवादी बनाउँदै फेरि काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ ।
ब्रेक सु र अन्य इलेक्ट्रिक सामानमा राखेर गरिएको सुन तस्करी काण्डमा मंगलवार अर्को साढे २ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । सोही प्रकरणमा २०८० भदौ ३१ गते काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले चिनियाँ नागरिकसहित २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो । पूर्वसभामुख कृष्णबहादुर महरासहितका नेताहरूसँग सम्बन्ध बनाएका चिनियाँ तस्करहरूको समूहले यो तस्करी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । यो तस्करीका ‘मास्टरमाइन्ड’ मानिएका चिनियाँ नागरिक दाओजिन वाङको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका महरासँग धेरैपटक टेलिफोन सम्पर्क भएको प्रहरीले गतवर्ष नै पत्ता लगाएको थियो । तर, त्यतिबेला मुद्दा हालिएन ।
दोस्रो चरणमा दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीलाई समेत प्रतिवादी बनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका मालवस्तु परीक्षण गर्दा ती मालवस्तुको कलपुर्जामा भएको सुनको तौल ३ हजार १९४ दशमलव ६६८ किलोग्राम भएको देखिन आएको अभियोगपत्रमा उल्लेख छ । यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँलाई बिगो दाबी कायम गरिएको छ ।
अभियोगपत्रमा भनिएको छ, ‘नेपालमा विभिन्न कम्पनी खोली हङकङबाट मालवस्तुभित्र अवैध सुन छिपाई ल्याई मालवस्तुबाट सुन निकाली गाली पगाली सानोसानो परिमाणका (टुक्रा) बनाई नेपाल तथा भारतीय बजारमा विक्रीसमेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँ लाभ लिएको सप्रमाण पुष्टि हुन आएको छ । उनीहरूले गरेको उक्त कार्य संगठित अपराध निवारण ऐन, २०७० को दफा २ (घ) मा परिभाषित दफा ५ बमोजिमको आपराधिक समूह स्थापना गरी दफा ३ (१) विपरीत ऐ. ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको छ ।’
प्रतिवादीको सूचीमा दावा छिरिङदेखि सिद्धनाथ अशोक गायकवाड, प्रशान्त गणेश बजबलकर, जीवन चलाउने लगायत छन् । अभियोगपत्रमा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिएको छ । उनीहरूविरुद्ध सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोगपत्रमा गरिएको छ । मुद्दा दायर गरिएकामध्ये २० अभियुक्त पक्राउ परेका छन् । बाँकी ४० जना फरार छन् ।
अभियोगपत्रमा के छ ?
नेपालमा विभिन्न कम्पनी खोली हङकङबाट मालवस्तुभित्र अवैध सुन छिपाई ल्याई मालवस्तुबाट सुन निकाली गाली पगाली सानोसानो परिमाणका बनाई नेपाल तथा भारतीय बजारमा विक्रीसमेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँ लाभ लिएको सप्रमाण पुष्टि हुन आएको छ । उनीहरूले गरेको उक्त कार्य संगठित अपराध निवारण ऐन, २०७० को दफा २ (घ) मा परिभाषित दफा ५ बमोजिमको आपराधिक समूह स्थापना गरी दफा ३ (१) विपरीत ऐ. ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको छ ।