काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत अर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन र रिक्त पदमा भएको मनोनयनलाई अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने कामसमेत सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।