काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था, ङादी ग्रूप पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने दिन माघ ८ गते हो । यी तीन ओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेका छन् ।
फागुन ९ गते ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकाले फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय वीरगञ्ज पर्सामा हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १९ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान १०ः३० बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।
ङादी ग्रूप पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।