ऊर्जाक्षेत्रका ठूला आयोजनामा निजीक्षेत्रका लगानीकर्ताको सहभागिता बढ्दो छ । यस कारण पछिल्लो केही समययता नेपाललाई शतप्रतिशत विद्युतीकरणको यात्रातर्फ लम्कन सफलता मिल्दै गएको छ । सन् २०२३ को शुरुआतमै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना साहस ऊर्जा लिमिटेडद्वारा विकसित र निजीक्षेत्रद्वारा प्रवद्र्धित नेपालकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना हो ।
५ मेगावाटको माथिल्लो हुग्दी खोलाजस्ता साना आयोजनाबाट काम शुरू गरेको साहस ऊर्जाले स्वदेशी लगानीबाटै ८६ मेगावाट क्षमताको सोलुखोला आयोजना बनाएको हो । पछिल्लोपटक साहस ऊर्जाले २०२४ जनवरीमा टाइम्स इनर्जीबाट ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना २ अर्ब रुपैयाँमा किनेको छ ।
साहस ऊर्जा र सुपर मादीजस्ता निजीक्षेत्रका ऊर्जा कम्पनी १०० मेगावाटभन्दा माथिका परियोजना निर्माणमा अग्रसर हुनु नेपालले पूर्ण विद्युतीकरणको क्षेत्रमा सफलता पाउँदै जानुको अर्को एउटा उदाहरण हो । नेपाल विद्युत् प्राधिकरणले हालै मात्र सावर्जनिक गरेको विद्युतीकरण तथ्यांक २०८१ का अनुसार कुल जनसंख्याको ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगिसकेको छ । त्यसमध्ये राष्ट्रिय ग्रीडमार्फत ९७ प्रतिशत, लघु जलविद्युत् र सौर्य ऊर्जालगायत क्षेत्रबाट २ प्रतिशत जनसंख्याले विद्युत् उपभोग गरिरहेका छन् ।
आजसम्म विद्युत् वितरण र प्रसारणको काम नेपाल विद्युत् प्राधिकरणले गरे पनि विद्युत् उत्पादनमा सफलता मिल्दै जानुमा निजीक्षेत्रको भूमिका रहेको छ । हाल नेपालमा उत्पादित कुल ३५०० मेगावाट विद्युत्मध्ये २५९५ मेगावाट निजीक्षेत्रले उत्पादन गरेको छ । यो कुल विद्युत् उत्पादनको ७० प्रतिशत अंश हो,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले भने ।
सन् २००८ मा १ मेगावाट क्षमताको पाटीखोला आयोजना बनाएका अर्का पायोनियर ऊर्जा उद्यमी सुपर मादी हाइड्रोपावरका पुष्प ज्योति ढुंगाना १६ वर्षपछि २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरिरहेका छन् । स्थानीय लगानीकर्ताको लगानीमा निर्माण हुने यस आयोजनाको डिजाइन नेपाली कम्पनी सानिमा हाइड्रो एन्ड इन्जिनीयरिङले गरेको छ । जतिखेर हामीले ऊर्जाक्षेत्रमा प्रवेश गरेका थियांै, लगानी जुटाउन निकै चुनौतीपूर्ण थियो । हामीले दक्ष प्राविधिकहरूको अभावसमेत झेल्नुपरेको थियो, ढुंगाना भन्छन् ।
सन् २००० जुलाई ११ मा व्यावसायिक रूपमा सञ्चालनमा आएको ६ मेगावाटको खिम्ती जलविद्युत् आयोजना नेपालको जलविद्युत् विकासको इतिहासमा कोसेढुंगा थियो । सन् १९११ मा ५०० किलोवाटको फर्पिङ जलविद्युत् आयोजनासँगै शुरू भएको नेपालको जलविद्युत् विकासको इतिहासमा खिम्ती आयोजना निजीक्षेत्रले सञ्चालन गरेको यो पहिलो आयोजना थियो । यसले बिस्तारै विद्युत् क्षेत्रमा निजीक्षेत्रको लगानीको बाटो खोल्यो । खिम्तीको सफलतापछि निजीक्षेत्रले भोटेकोशी जलविद्युत् निर्माण गरेको हो । यी दुई आयोजना मुलुकमा विदेशी लगानी भित्त्याएर अघि बढाएको पायोनियरिङ आयोजना पनि हुन् ।
सन् २००० को प्रारम्भमा नेपाल विद्युत् प्राधिकरणले १ मेगावाटदेखि १० मेगावाटसम्मको क्षमताका निजीक्षेत्रबाट प्रवद्र्धित आयोजनाहरूबाट ५० मेगावाटसम्म किन्ने नीति अपनायो । नेपाली ऊर्जाक्षेत्रमा निजीक्षेत्रको संलग्नताको एउटा विशेष पक्ष यो पनि हो कि यस क्षेत्रमा प्रारम्भिक लगानी मुलुकका ठूला व्यापारिक समूह नभई साना लगानीकर्ताले गरेका थिए ।
इप्पानका अर्का उपाध्यक्ष आशिष गर्गका अनुसार नेपालमा जलविद्युत् आयोजनाको विकासमा मझौला पूँजी भएका उद्यमीहरूले नै पहिलो पहल गरेका थिए । ‘स्वाभाविक रूपमा जोखिम रहेको ऊर्जाक्षेत्रमा लगानी गर्ने जोखिम उठाउने उनीहरूको त्यो पहल प्रशंसायोग्य छ,’ गर्गले भने ।
गर्गका अनुसार मुलुकमा रहेका २५–३० जना यस्ता व्यवसायी छन् जो धेरै धनी त छैनन् तर आफ्ना आयोजनाको सफल निर्माण र सञ्चालनमार्फत ऊर्जाक्षेत्रमा निजी र सार्वजनिक लगानी आकर्षित गर्दै नेपालको जलविद्युत् क्षेत्रलाई अगाडि बढाइरहेका छन् । ठूला व्यावसायिक घरानाहरूलाई पनि जलविद्युत् क्षेत्रमा आकर्षित गर्ने यिनै ऊर्जा उद्यमी हुन् ।
गर्गका अनुसार शुरूका वर्षहरूमा नेपाली निजीक्षेत्र मुख्यतया १० मेगावाटसम्मका आयोजना निर्माण गर्ने काममा संलग्न थिए । त्यसैले प्राधिकरणले १ मेगावाटदेखि १० मेगावाटसम्म क्षमताका आयोजना सञ्चालन गर्ने स्वतन्त्र पावर डेभलपरबाट विद्युत् किन्ने नीति पनि अपनाएको थियो, गर्गले भने ।
हाल ३००० मेगावाट क्षमताका धेरै परियोजना हाल निजीक्षेत्रको लगानीमा निर्माणाधीन छन् । इप्पानका अनुसार थप ३ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरीद सम्झौता र आर्थिक स्रोत जुटाएर निर्माणको चरणमा प्रवेश गर्ने तयारीमा छन् ।
सन् २००० को शुरुआतबाट जलविद्युत् विकासमा निजीक्षेत्रको प्रवेश भएयता देशमा विद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । सन् २००० सम्म निजीक्षेत्र विद्युत् उत्पादनमा नआउँदा सरकारले ९० वर्षमा ३६१.५ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकेको थियो । निजीक्षेत्रको प्रवेशसँगै विद्युत् उत्पादन तुलनात्मक रूपमा द्रुत गतिमा बढेको छ र अहिले निजीक्षेत्रले सरकारको तुलनामा उल्लेख्य मात्रामा विद्युत् उत्पादन गरिरहेको छ ।
विद्युत् उत्पादनमा स्वदेशी निजीक्षेत्रको सहभागिता बढेसँगै ठूला आयोजना सञ्चालन गर्ने क्षमता पनि बढेको छ । निजीक्षेत्रले शुरूमा १ मेगावाटभन्दा बढीका आयोजना निर्माण थालेका थिए । अहिले स्वदेशी निजीक्षेत्र ५०० मेगावाटसम्म क्षमताका आयोजना निर्माण गर्न सक्षम भइसकेको सुपर मादीका ढुंगाना बताउँछन् ।
१०० मेगावाटभन्दा बढीको जलविद्युत् आयोजना निर्माणका लागि नेपाल र विदेशी कम्पनीबीचको संयुक्त उपक्रमलाई विनाप्रतिस्पर्धा लाइसेन्स दिन सक्ने प्रावधान नयाँ विद्युत् विधेयकमा सरकारले ल्याएकोमा नेपाली निजीक्षेत्रले त्यसको आलोचना गरेको छ ।
विदेशी लगानीकर्तालाई विनाप्रतिस्पर्धा ५०० मेगावाटसम्मका आयोजना निर्माण गर्न लाइसेन्स दिन नहुने तर्क गर्दै उक्त प्रावधानमा इपानले आपत्ति व्यक्त गरेको छ । ‘नेपाली निजीक्षेत्र नै ५०० मेगावाटसम्मका आयोजना विकास गर्न सक्षम भएकाले विदेशी लगानीकर्ता साना परियोजनामा रुचि राखेमा भने तिनीहरूले पनि नेपाली लगानीकर्ताजस्तै प्रतिस्पर्धा गर्नुपर्ने इप्पानको धारणा छ ।
अहिले नेपाली निजीक्षेत्र ठूला आयोजना निर्माणमा लागेसँगै बैंक तथा सर्वसाधारणबाट पनि लगानी आउन थालेको छ । डाँगीका अनुसार पहिला जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने अनुभव तथा विशेषज्ञता नेपाली बैंकहरूमा कमी थियो । तर, हालका दिनमा बैंकहरूले पनि त्यस्तो विशेषज्ञता प्राप्त गरिसकेका छन् र अहिले ठूला परियोजनाहरूमा लगानी गरिरहेका छन् । सोही क्रममा गत जेठमा स्वदेशी लगानीमै बन्न लागेको २८५ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ । जुन स्वदेशी निजीक्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।
सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्नेे लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न स्वदेशी र विदेशी निजीक्षेत्रका विकासकर्ताको महत्त्वपूर्ण रहनेछ । हाल ६००० मेगावाट क्षमताका आयोजना स्वदेशी निजीक्षेत्रको नेतृत्वमा निर्माणाधीन वा निर्माण शुरू गर्ने चरणमा रहेकाले सन् २०३५ सम्ममा निजीक्षेत्रबाट प्रवद्र्धित आयोजनाबाट १० हजार मेगावाट उत्पादन हुन धेरै समस्या नहुने लगानीकर्ता बताउँछन् ।