काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
कम्पनी ऐन २०६३ बमोजिम स्थापित कम्पनीको रजिष्टर्ड कार्यालय सिराहाको लहान नपा–८ मा छ । कम्पनी मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । कम्पनीले हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।