काठमाडौं। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको इलेक्ट्रिक कार ‘आयोनिक फाइभ’अब सय किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । उक्त ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ पर्ने बताइएको छ ।
सन् २०२२ फेब्रुअरीदेखि नेपालमा आयोनिक फाइभको विक्री शुरू भएको थियो । आयोनिक फाइभमा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । आयोनिक फाइभले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर र विश्व कार डिजाइन अफ दि इयर जस्ता सम्मानित पुरस्कार प्राप्त गरेको बताइएको छ ।
आयोनिक फाइभको मोटर पावर फरक भए पनि रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुने कम्पनीको भनाइ छ । करीब एक महीनाभित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्ने र उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्ने बताइएको छ ।