वैशाख ७, काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा रू. २७ करोड ३७ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ९ करोड ४९ लाखमा सीमित भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो ।
गत आवको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३२ प्रतिशत र सञ्चालन नाफा ६५ प्रतिशत घटेको छ । कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८० करोड ६१ लाख सञ्चित गरेको हो भने रिटेण्ड अर्निङ रू. ८ करोड १८ लाख ऋणात्मक रहेको छ ।
त्यसैगरी कम्पनीले सो अवधिमा शेयर प्रिमियममा रू. २ करोड २३ लाख सञ्चित गरेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव शून्य ५ रहेकोमा चालू आवमा रू. १४ दशमलव ५८ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३४ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव ९० रहेको छ ।