काठमाडौं । तिहार बिदा पछि मंगलवार खुलेको नेप्से दिनभरीको उतार चढाब बिच अन्त्यमा शून्य दशमलव २१ अंक घटेर बन्द भएको छ । नेप्से २ हजार ६७७ दशमलव ४० विन्दुमा कायम भएको हो । यस दिन नेप्से उच्च विन्दु २ हजार ६९६ दशमलव ८५ विन्दु सम्म पुगेको थियो भने न्यून २ हजार ६७० दशमलव १२ विन्दु सम्म झरेको थियो । कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन रू.५ अर्ब ९५ करोड बराबरको कारोबार भएकोमा आज ४ अर्ब २० करोडमा झरेको हो ।
तिहार अघिको अन्तिम कारोबार दिनमा पनि नेप्से १४ दशमलव ४३ अंक घटेको थियो । पछिल्लो केही दिनयता नेप्से २६ सय विन्दुभन्दा तल आउन सकेको छैन भने बढ्न पनि सकेको छैन । बजार २६ सयकै वरिपरि घुमिरहेको देखिन्छ । यस आधारमा बजार साइडवेजमा बसेको देखिएको छ ।
पछिल्लो समय ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ भने सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । यस कारण पनि अहिले लगानी गरेमा जोखिम कम हुने शेयर जानकारहरू बताउँछन् । लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको वित्तीय अवस्थालाई अध्ययन गर्नुपर्ने उनीहरूको भनाई छ ।
मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ०५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २६ प्रतिशत घटेको छ ।
३०२ धितोपत्रको ९७ लाख १३ हजार ७३० कित्ता शेयर ४७ हजार ५१५ पटकमा रू. ४ अर्ब २० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्र मध्ये सुपर माई हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य पछिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १४० दशमलव ७० पुगेको छ । त्यस्तै दोस्रोमा समाज लघुवित्त वित्तीय सस्थाको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत बढेर रू. ४ हजार ५७ पुगेको छ ।
आज मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य पछिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९५५ दशमलव ४० मा झरेको छ । त्यस्तै दोस्रोमा अप्पर स्याँङ्गे हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ९४ प्रतिशत घटेर रू. ७९४ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. २९ करोड ९० लाख बराबरको भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५५९ दशमलव ८० कायम भएको छ । सर्वाधिक शेयर खरिदविक्री हुने दोस्रोमा सानिमा जिआईसी इन्स्योरेन्सको रू.१६ करोड ११ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचक मध्ये सात समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक १ दशमलव ०६ प्रतिशत वृद्धि भएको छ भने बैंकिङ्ग समूहको सूचक शून्य दशमलव ८१ प्रतिशत घटेको छ ।