काठमाडौं । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेका फाइनान्स कम्पनीको खराब कर्जा बढ्दो छ । १५ कम्पनीले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी जानकी फाइनान्सको रहेको छ । पहिलो त्रैमासमा यस कम्पनीको खराब कर्जा ३४ दशमलव ६४ प्रतिशत छ । गत आवको पहिलो त्रैमासमा यस कम्पनीको यो कर्जा १७ दशमलव ६ प्रतिशत थियो ।
१५ कम्पनीहरू मध्ये तीन कम्पनीको खराब कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ भने बाँकी सबै कम्पनीको बढेको हो ।
बेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र बे ष्ट फाइनान्सको खराब कर्जा गत आवको तुलनामा चालू आवमा घटेको हो । बे ष्ट फाइनान्सको खराब कर्जा गत आवको पहिलो त्रैमासमा ५ दशमलव ४९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ३ दशलमव ९८ प्रतिशतमा झरेको छ । त्यस्तै प्रोग्रेशिभ फाइनान्सको गत आवमा १२ दशमलव ४५ प्रतिशत रहेकोमा चालू आवमा ७ दशमलव ४७ प्रतिशत र नेपाल फाइनान्सको गत आवमा ११ दशमलव ७५ प्रतिशत रहेकोमा चालू आवमा १० दशमलव ३६ प्रतिशत रहेको हो ।
धेरै खराब कर्जा हुनेमा समृद्धि फाइनान्सको २३ दशमलव ४७ प्रतिशत रहेको छ । यस कम्पनीको यस्तो कर्जा गत आवको पहिलो त्रैमासमा ४ दशमलव ७९ प्रतिशत मात्रै थियो । पोखरा फाइनान्सको १४ दशमलव ४४ प्रतिशत, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको १३ दशमलव ५६ प्रतिशत र गार्खाज फाइनान्सको १३ दशमलव ४५ प्रतिशत रहेको छ ।
त्यस्तै सेन्ट्रल फाइनान्सको खराब कर्जा ८ दशमलव ७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८ दशमलव ५८ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४ दशमलव ९७ प्रतिशत, गुडवील फाइनान्सको ४ दशमलव ९१ प्रतिशत, आइसिएफसि फाइनान्सको ३ दशमलव ६६ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३ दशमलव १९ प्रतिशत रहेको छ । यी १५ कम्पनीमध्ये सबैभन्दा कम खराब कर्जा भएको मञ्जुश्री फाइनान्सको ३ दशमलव १२ प्रतिशत रहेको छ ।
कम्पनीहरूको खराब कर्जा अनुपात वृद्धि हुनुको मुख्य कारण ऋणीले समयमै कर्जाको सावाँब्याज भुक्तानी नगर्नु हो । खराब कर्जा बढेमा बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्ताको विश्वास पनि गुमाउने सम्भावना रहन्छ । कर्जा लगानीमा व्यवस्थापन पक्ष कमजोर भएको पनि संकेत गर्छ । खराब कर्जा ५ प्रतिशत वा बढी पुगेमा बैंक तथा वित्तीय संस्थाहरूले नाफा गरेकै भए पनि लगानीकर्तालाई लाभांश वितरण गर्न पाउँदैनन् । सोही कारण कम्पनीहरूको खराब कर्जा जति न्यून भयो त्यतिनै राम्रो मानिन्छ । लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थाको शेयरमा खरीद गर्नुअघि खराब कर्जा अनुपातलाई विशेष ध्यान दिन अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
तर पछिल्लो समय लगानीकर्ताको रोजाईमा भने फाइनान्स कम्पनीहरूको शेयर मूल्य पर्दछ । यस समूहका अधिकांश कम्पनीहरूको शेयर सख्या न्यून छ । सोही कारण पनि वित्त समूहका कम्पनीको शेयर सख्या कम भएकाले आपूर्ति कम हुँदा मूल्य बढिरहेको लगानीकर्ता बताउँछन् । शेयर खरीद गर्नु पूर्व कम्पनीको समग्र वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्ने धितोपत्र विज्ञ बताउँछन् ।
कम्पनीको नाम | निष्क्रिय कर्जा (खराब कर्जा) प्रतिशतमा | |
गत आवको पहिलो त्रैमास | चालू आवको पहिलो त्रैमास | |
जानकी फाइनान्स | 17.6 | 34.64 |
समृद्धि फाइनान्स | 4.79 | 23.47 |
पोखरा फाइनान्स | 4.13 | 14.44 |
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स | 4.72 | 13.56 |
गोर्खाज फाइनान्स | 9.89 | 13.45 |
नेपाल फाइनान्स | 11.75 | 10.36 |
सेन्ट्रल फाइनान्स | 7.43 | 8.71 |
रिलायन्स फाइनान्स | 4.96 | 8.58 |
प्राग्रेशिभ फाइनान्स | 12.45 | 7.47 |
मल्टीपर्पस फाइनान्स | 1.22 | 4.97 |
गुडवील फाइनान्स | 3.97 | 4.91 |
वेष्ट फाइनान्स | 5.49 | 3.98 |
आइसिएफसि फाइनानस | 3.23 | 3.66 |
श्री इन्भेष्टमेन्ट फाइनान्स | 1.2 | 3.19 |
मञ्जुश्री फाइनान्स | 2.85 | 3.12 |
स्रोत : कम्पनीले प्रकाशित चालू आवको पहिलो त्रैमास |
के हो खराब कर्जा ?
खराब कर्जा (नन पर्फमिङ लोन वा एनपीएल) बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रदर्शन परीक्षण गर्ने महत्त्वपूर्ण औजार हो । कुनै पनि ऋणीले निश्चित समयसम्म आफ्नो ऋणको सावाँ तथा ब्याजको निर्धारित भुक्तानी गरेको छैन भने त्यस्तो ऋण वा कर्जालाई खराब कर्जा भनिन्छ ।
बैंक तथा वित्तीय संस्थाले निश्चित समय अवधिका लागि समय समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने शर्तमा ऋणीहरूलाई कर्जा दिएका हुन्छन् । यदि, तोकिएको समयमा ऋणको सावाँ वा ब्याज भुक्तानी पाउन सकेनन् भने बैंकहरूले त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गर्छन् ।