दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल विक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाख बढीको फूल विक्री गरेका हुन् ।
अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा विक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्याउन नसकिएको अक्षयले जानकारी दिए । फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्याउन नसकिएको उनले उल्लेख गरे ।
अक्षयले भने, “बारीमा लगाएकोमध्ये एकतिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये विक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौं ।” उनले प्रतिकिलो रु दुई सय ५० मा फूल विक्री गरिएको जानकारी दिए ।
फूल विक्रीका लागि म्याग्दे–४ थर्पुमा विक्री केन्द्र स्थापना गरिएको थियो । गाउँपालिकाको सहयोगमा विक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ । उनले भने, “एकादशीका लागि पनि फूल विक्री हुन्छ । त्यतिबेला उत्पादन गर्नेगरी तयारी गरेका छौं ।”
म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक युवाहरूले सयपत्री फूलखेती शुरु गरेका हुन् । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरीदमा ७५ प्रतिशत अनुदान दिएको थियो । फूलखेतीमा आबद्ध अक्षय गाउँपालिकाका कर्मचारी हुन् भने सन्तोष पशुपालन व्यवसायमा आबद्ध छन् ।
स्थानीय किसानलाई प्रोत्साहन र हौसला दिन गाउँपालिकाले फूल विक्रीका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अन्य कार्यक्रममा पनि स्थानीयस्तरमा उत्पादित सयपत्री फूल प्रयोग गर्न प्रोत्साहन गरिने उनले उल्लेख गरे । रासस