काठमाडौं । लगातार तीन कारोबार दिन बढेको नेप्से आइतवार (आज) भने २१ दशमलव १२ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६०९ दशमलव ५८ विन्दुमा झरेको हो ।
बजार बढ्नेबित्तिकै अल्पकालीन कारोबारीहरू हाबी हुँदा आज बजार घटेको जानकारहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि कतिपय आधारभुत अवस्था कमजोर रहेका कम्पनीहरूको शेयर मूल्य घटेको छ । विकास बैंक र वित्त समूहमा यसको बढी असर देखिएको छ । सोही कारण यी दुवै समूहका कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५६ प्रतिशत घटेको छ ।
आज ३१६ धितोपत्रको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटकमा रू. ५ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४६१ दशमलव ६० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ६ हजार ५३० पुगेको छ ।
आज पाँच धितोपत्रको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा प्रभु बैंकले ओगटेको छ । यस कम्पनीको रू. २६ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जानकी फाइनान्स छ । यस कम्पनीको रू. १६ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये लघुवित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव १२ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ४७ प्रतिशत घटेको छ ।