काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएपछि अन्तरराष्ट्रिय उडान झन्डै एक तिहाइले बन्द हुने भएको छ ।
हाल दैनिक २१ घण्टा विमानस्थलबाट उडान भइरहेकोमा कात्तिक २३ गतेदेखि मध्यचैतसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । प्राधिकरणले विमानस्थलको पार्किङ, धावनमार्ग, ह्यांगर बनाउने लगायतको स्तरोन्नतिलाई ध्यानमा राख्दै हिउँद यामका लागि उडान तालिका सार्वजनिक गरी उडानहरू भारी मात्रामा कटौती गरेको हो ।
यो कटौतीलाई परिपूर्ति गर्न प्राधिकरणले निर्माण सम्पन्न भएका पोखरा अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा उडान गर्न अन्तररािष्ट्रय एयरलाइन्शहरूलाई लामो समयदेखि प्रोत्साहन गर्दै आएको थियो । तर, नेपालकै अन्तररािष्ट्रय एयरलाइन्सदेखि सबैजसो विदेशी एयरलाइन्सले नयाँ विमानस्थलमा उडान भर्न नचाहेकाले प्राधिकरण उडान कटौती गर्न बाध्य भएको हो ।
सन् २०२४ को गर्मीयामको उडान तालिका अनुसार विभिन्न ३०ओटा अन्तरराष्ट्रिय विमान कम्पनीहरूले कुल ४१० ओटा उडानका लागि स्वीकृत पाएका थिए । यो संख्यामा कटौती भएर हिउँदयाममा २८७ मा झरेको छ ।
नयाँ उडान तालिकाअनुसार काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका एयरलाइन्स कम्पनीहरूको साप्ताहिक उडान संख्या कटौती भएको छ, जसको सबैभन्दा धेरै प्रभाव नेपाली एयरलाइन्स कम्पनीहरू राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई पर्ने देखिएको छ, किनभने यिनीहरूको सबैभन्दा धेरै उडान संख्या रहँदै आएको छ ।
प्राधिकरणले अन्तरराष्ट्रिय उडान गर्ने सबै एयरलाइन्सको उडान कटौती पनि गरेको छैन । यद्यपि काठमाडौंको उक्त विमानस्थलबाट विभिन्न अन्तरराष्ट्रिय गन्तव्यहरूमा धेरै उडान गर्ने एयरलाइन्स कम्पनीको उडान भारी कटौती भएको छ । सबैभन्दा धेरै गन्तव्यमा उडान गर्ने स्वदेशी एयरलाइन्समा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स छन् ।
नेपालकै यी दुई एयरलाइन्स लगायत सबैजसो अन्तरराष्ट्रिय एयरलाइन्शहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा जान अहिलेसम्म पनि आवेदन दिएका छैनन् । भैरहवामा कुवेतको जजिरा एयरवेज र दुबईको फ्लाई दुबईले मात्रै उडान तालिका स्वीकृत गराएका छन् । अर्काे थाई एयर एशियाले पनि भैरहवाबाट उडान गर्ने भने पनि अहिले उक्त एयरलाइन्सको उडान नेपालले बन्द गरिदिएको छ । गत आइतवार अनुमतिविना काठमाडौं आएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको उडान स्थगन गरिदिएको थियो । अर्को सूचना नआएसम्मका लागि प्राधिकरणले उक्त कम्पनीको नेपाल उडान रोकिदिएको छ भने कम्पनीको उडान खुलाउने विषयमा अहिलेसम्म कुनै निर्णय भइनसकेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । नेपालमा नेपालीसहित ३० ओटा एयरलाइन्स कम्पनीले अन्तरराष्ट्रिय उडान गर्छन् ।
सन् २०२४ मा काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नति गर्दा नेपालसँग दुईओटा अन्य अन्तरराष्ट्रिय विमानस्थल तयार भइसकेका छन् । वार्षिक २० लाख यात्रुलाई सेवा दिने क्षमताको गौतमबुद्ध र वार्षिक १० लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई नेपालले विकल्प मानेर त्यहाँ उडानका लागि जान भनेको थियो । त्यसका लागि उल्लेख्य छूट दिँदासमेत कम्पनीहरू गएका छैनन् ।
स्तरोन्नतिका क्रममा हुने उडान कटौती, पोखरा र गौतमबुद्धमा जाँदा कम्पनीहरूलाई दिने छूट सुविधालगायत विषयमा प्राधिकरणले अवगत गराएको थियो । ‘यसको ६ महीनाअघि देखि नै २/३ पटक छलफल भएको थियो सम्बद्ध एयरलाइन्स कम्पनीसँग,’ भुलले भने, ‘सन् २०२४ को ३० मेमा प्राधिकरणले १० घण्टा विमानस्थल बन्द हुन्छ भन्ने औपचारिक जानकारी गराएको थियो, त्यसले गर्दा चाहेजति उडान काठमाडौंबाट हुँदैन भनिएको थियो ।’
उनका अनुसार कात्तिक २३ गतेदेखि १४ घण्टामात्र काठमाडौंको विमानस्थलमबाट उडान हुँदा ३० प्रतिशत उडान घट्ने भएकाले त्यसको पूर्तिका लागि २० प्रतिशत गौतमबुद्ध र १० प्रतिशत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्न भनिएको थियो । भैरहवा र पोखराबाट शुरूमा उडान हुँदा घाटा हुन्छ भनेर पनि २ वर्षको प्याकेज प्राधिकरणले लिएको थियो । प्राधिकरणले २ वर्षसम्म ल्यान्डिङ, पार्किङ शुल्क नलाग्ने, बाहिरबाट उडान गर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० रुपैयाँ छूट, यात्रुले तिर्ने मूल्य अभिवृद्धिकर (भ्याट–यद्यपि भ्याट छूट भने अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छैन) छूट गर्नेजस्ता प्याकेज ल्याएको थियो ।
यसरी छूट दिँदा एयरलाइन्स कम्पनीको घाटा कम र भाडा पनि सस्तो हुने प्राधिकरणको ठम्याइ थियो । यात्रु कम हुँदा पनि घाटा नहोस् भनेर प्याकेज ल्याइए पनि एयरलाइन्स कम्पनीहरू जान चाहेका छैनन् । विमानस्थल सञ्चालन समय घटेपछि क्षमता घट्ने र घटेको क्षमता पोखरा र भैरहवा जान भनिएको थियो । ‘तर, धेरै घाटा नहोस् भनेर सुविधा दिए पनि गएनन्,’ भुलले भने । अर्काेतर्फ प्राधिकरणले कनेक्टिङ फ्लाइट दिँदासमेत कम्पनी त्यहाँ गएका छैनन् ।
‘राज्यले अन्य विमानस्थलमा जाऊ भन्ने विकल्प दिँदा दिँदै पनि एयरलाइन्सको अडानप्रति प्राधिकरण आश्चर्यचकित भएको छ,’ भुलले भने, ‘एयरलाइन्स कम्पनीको केन्द्रीकृत मानसिकता देखियो । काठमाडौं नै चाहिन्छ भन्ने देखियो । दुई देशबीच भएको हवाई सम्झौताबमोजिम र राज्यको आवश्यकताबमोजिम काठमाडौंमा आएको जहाज गौतमबुद्ध र पोखरा जुनसुकै विमानस्थलमा पठाउन सक्छौं । यो हाम्रो क्षेत्राधिकार हो ।’ ६ महीनाअघिको निर्णयअनुसार अहिले प्राधिकरणले सबैलाई समान हुने गरी उडान समय उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार नेपाली एयरलाइन्स कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट विभिन्न ११ ओटा गन्तव्यमा उडान गर्दै आएको छ । गर्मीयामको उडान तालिकाअनुसार हिमालयले क्वालालम्पुर, दुबई, ढाका, दोहा, दमाम, रियाद, बेइजिङ, संघाईलगायत ११ गन्तव्यमा साताको ६६ उडान गर्दै आएको थियो । तर, अबको हिउँदको उडान तालिकाअनुसार भने हिमालय एयरलाइन्सको साताको उडान ४२ मा झरेको छ ।
हिमाल एयरलाइन्सले सबैभन्दा धेरै क्लावालम्पुर, दुबईमा सातामा १४/१४ उडान गर्दै आएको छ भने तेस्रोमा साउदी अरेबियाको दमाममा सातामा १० ओटा उडान गर्दै आएको छ । अब यो संख्या घटेको छ । एयर इन्डियाको दिल्ली सेक्टरको उडान घटे पनि सोही एयरलाइन्सले उडान गर्ने काठमाडौं–कोलकाता सेक्टरको उडान संख्या भने यथावत् छ । एयर इन्डियाले काठमाडौं–कोलकाता साताको ४ उडान गर्दै आएको छ भने अबको हिउँदे तालिकाअनुसार चारओटै उडान हुनेछन् ।
सन् २०१९ मा पनि त्रिभुवन अन्तररराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि भन्दै ३ महीना बन्द गरिएको थियो । त्यसबेला धावनमार्ग पुनर्निर्माणका लागि रातिकै समय १० घण्टा नै बन्द भएको थियो । त्यसबेला सबै एयरलाइन्सले सघाएको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन् । ‘त्यो बेला हामीसँग यो विमानस्थलको विकल्प थिएन,’ भुलले भने, ‘अहिले हामीसँग विकल्प छ, गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल ।’