
कुनै पनि सम्पत्तिको तुरुन्त खर्च वा भुक्तानीयोग्य रकममा परिणत हुन सक्ने गुण वा क्षमतालाई तरलता भनिन्छ । बैङ्किङ तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पूँजीका रूपमा पनि बुझ्ने गरिन्छ । सर्वसाधारणले बैङ्कमा राखेको निक्षेप, बैङ्कहरूले केन्द्रीय बैङ्कमा राखेको रकम, बजारमा खरीदविक्री भइरहने वित्तीय उपकरण र सुनचाँदी जस्ता बहुमूल्य धातुमा अत्यधिक तरलताको गुण हुन्छ ।
तरलताको तीनओटा परिभाषा छन् :
केन्द्रीय बैङ्कको तरलता, बजारको तरलता र (फण्डिङ) फाइनान्सिङ तरलता हो ।
केन्द्रीय बैङ्कको तरलता भनेको बैङ्क तथा वित्तीय संस्थाले केन्द्रीय बैङ्कमा खाता खोलेर राखेको रकम हो । केन्द्रीय बैङ्कमा बैङ्क तथा वित्तीय संस्थाहरूले दुईओटा उद्देश्यका लागि रकम राख्छन् । एउटा केन्द्रीय बैङ्कले अनिवार्य नगद अनुपात तोकेको हुन्छ, त्यो कायम गर्न राखेका हुन्छन् । अर्को, भइपरिआउने, सुरक्षाका लागि आफूसँग अधिक रहेको रकम कारोबार र बैङ्किङ कारोबारका लागि केन्द्रीय बैङ्कमा राख्ने गर्छन् । त्यस्तै, कुनै पनि वित्तीय सम्पत्ति सजिलै खर्चयोग्य रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई बजारको तरलता भनिन्छ । सर्वसाधारणले लगानी गरेका विकास ऋणपत्र, नागरिक ऋणपत्र, शेयर छन् भने त्यो बजार तरलता हो । आवश्यक पर्दा ती धितोपत्रहरू बजारमा तुरुन्तै विक्री गर्न र ठूलो नोक्सानी नबेहोरीकन विक्री गर्न सकिन्छ । कुनै पनि बैङ्क वा व्यवसायीलाई परियोजनामा लगानी गर्न रकम चाहिएको छ भने त्यो फण्डिङ तरलता हो ।
तरलता मापनका लागि करेण्ट रेशियो, क्विक रेशियो, क्याश रेशियो र क्याश कन्भर्जन साइकल जस्ता सूचक प्रयोग हुन्छ ।
करेण्ट रेशियो (चालू अनुपात) मापन गर्दा चालू सम्पत्तिलाई चालू दायित्वले भाग गर्नुपर्छ । यदि कुनै पनि कम्पनीको चालू अनुपात १ वा १ भन्दा बढी छ भने सो कम्पनीको वित्तीय अवस्था राम्रो रहेको र कम्पनीसँग चालू वा अल्पकालीन दायित्व राम्ररी पूरा गर्न सक्ने क्षमता रहेको बुझाउँछ । तर, यदि कम्पनीको चालू अनुपात १ भन्दा कम छ भने त्यस कम्पनीको वित्तीय अवस्था राम्रो नरहेको बुझाउँछ । अनुपातलाई मात्र आधार नलिई लगानीकर्ताहरूले कम्पनीको चालू सम्पत्ति नगदमा रूपान्तरण हुन कति समय लाग्छ, त्यसबारे समेत बुझ्न आवश्यक हुन्छ । त्यो भनेको क्यास कन्भर्जन साइकल हो ।
त्यस्तै, क्विक रशियोलाई तरलता मापन गर्दा करेण्ट रेशियोभन्दा बढी बलियो मानिन्छ । यसलाई अर्को शब्दमा एशिड टेष्ट रेशियो पनि भनिन्छ । चालू सम्पत्तिभन्दा मौज्दात (इन्भेण्ट्री) कम तरल हुन्छ । त्यसैले, यो सूचक मापन गर्दा करेण्ट रेशियोमा चालू सम्पत्तिका केही भाग (इन्भेण्ट्री र अन्य चालू सम्पत्ति) हटाइन्छ । क्विक रेशियो मापन गर्दा नगदसरहका सम्पत्ति (क्याश इक्विभ्यालेण्ट), बजारमा नियमित खरीदविक्री हुने ऋणपत्र र बजारबाट उठ्नु पर्ने हिसाब (रिसिबेबल खाता)लाई चालू दायित्वले भाग गरिन्छ । यो तरीकालाई परम्परागत तरीकाको रूपमा लिइन्छ । यदि कुनै कम्पनीको क्विक रेशियो १ भन्दा बढी छ भने सो कम्पनीको अल्पकालीन दायित्वको लक्ष हासिल गर्न पर्याप्त रहेको देखाउँछ ।
क्याश रेशियो कम्पनीको अल्पकालीन दायित्व हासिल गर्न तरलता मापन गर्ने अर्को माध्यम हो । यो सूचक मापन गर्न नगद रकम र बजार ऋणपत्रलाई चालू दायित्वले भाग गरिन्छ । कम्पनीको तत्काल वित्तीय वा आधारभूत विश्लेषण गर्न क्याश रेशियोले मद्दत गर्छ । नगद प्राप्ति चक्र (क्याश कन्भर्जन साइकल)ले कम्पनीको उत्पादन र विक्री प्रक्रिया अवधिको मापन गर्छ । यो साइकल जति छोटो अवधिको हुन्छ, कम्पनीको तरलता त्यति नै बढी हुन्छ । क्याश कन्भर्जन साइकलले कम्पनीले कति छिटो उत्पादन वा मौज्दातमा रहेको सामान विक्री गरेर चालू दायित्व तिर्न सक्छ भन्ने देखाउँछ ।