काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयले माघ २५ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले छिटो अवधि माघ १० गतेसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि माघ २५ गतेसम्मको विक्री मिति तय गरेको हो ।
कम्पनीले उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्रका वासिन्दासँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आजसम्म मात्र आईपीओ विक्री गरिने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
उद्योग प्रभावित स्थानीयमा जारी भएको नवरपरासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणको आईपीओको मूल्य भने प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तोकेको छ । संस्थागत लगानीकर्तामा विक्री भएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा दोस्रो चरणको आईपीओ विक्रीमा ल्याइएको हो । उद्योग प्रभावित क्षेत्रका स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको क्षमता रहेको कम्पनी रहेको बुझिन्छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सहनिष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाले नवलपरासीको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाले पाल्पाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।