काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक १३ दशमलव ०३ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६६७ दशमलव ४० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन पनि नेप्से घटेको थियो । उक्त दिन नेप्से ३१ दशमलव ३१ अंक घटेको थियो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ८ अर्ब २५ करोड बराबरको कारोबार भएकोमा आज रू. ७ अर्ब ७२ करोड बराबरको कारोबार भएको हो ।
नेप्से २७ सय विन्दु तल आएपछि लगानीकर्ताको मनोबल थप कमजोर देखिएको जानकार बताउँछन् । नेप्से घट्न थालेपछि विक्रेता हाबी भएका छन् । जसका कारण बजार थप घटेको जानकारहरूको भनाइ छ । शेयर बजार बढ्दा खरीदकर्ता र घट्दा विक्रीकर्ता हावी हुने गर्छन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३५ प्रतिशत घटेको छ ।
आज ३२२ धितोपत्रको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर ७६ हजार ४१८ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७० कायम भएको छ । त्यस्तै ङादी ग्रुप पावरको शेयर मूल्य ९ दशमलव ५८ प्रतिशत बढेर रू. ५४९ पुगेको छ ।
आइतवार सेञ्चुरी डिबेञ्चर २०८८ नामक ऋणपत्रका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस ऋणपत्रको मूल्य आज सबैभन्दा धेरै ७ दशमलव ७५ प्रतिशत घटेको छ । यससँगै उक्त ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार ७४ दशमलव ७० मा झरेको छ । त्यस्तै महुली लघुवित्तको शेयर मूल्य ६ दशमलव ३० घटेर रू. १ हजार ७२५ कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जानकी फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ६० करोड ८७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४३ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. ४० करोड ३३ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको सूचक शून्य दशमलव ६८ प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक १ दशमलव ६३ प्रतिशत घटेको छ ।