काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने भएको छ ।
मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी साधारण सभाबाट पारित गर्न नेपाल राष्ट्र बैंकमा पेश गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले विगतका वर्षहरूमा दुई आर्थिक वर्ष लाभांश वितरण गरेको देखिन्छ ।
आर्थिक वर्ष ०७६/७७ मा १७ दशमलव ८१ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष ०७७/७८ मा ३० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले त्यसपछिका वर्षमा भने लगानीकर्ताको हात खाली बनाउँदै आएको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणलाई हेर्दा कम्पनी २२ लाख ९८ हजार रुपैयाँभन्दा बढी मात्र खुद नाफामा छ ।
चुक्तापूँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी र जगेडा कोष रकम ९ करोड ४ लाख रुपैयाँभन्दा बढी कायम छ ।