काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २०औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले २० वर्षभन्दा लामो समयदेखि कार्यरत ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्षभन्दा लामो समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीलाई १०० ग्राम चाँदीको सिक्कासहित सम्मान गरेको थियो ।
कम्पनी निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोडभन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको बताएको छ । बीमा शुल्क रकममा करीब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको कम्पनीको दाबी छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गरेको र २० वर्षको अवधिमा एक लाख भन्दा बढी दाबी भुक्तानी दिएको बताइएको छ ।
मर्जरविना नै २ अर्ब ५० करोड रुपैयाँको चुक्ता पूँजी पुर्याउने, बीमा क्षेत्रमा १ सयभन्दा बढी शाखा सञ्जाल विस्तार गर्ने र ६ सयभन्दा धेरै मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी समेत बनेको कम्पनीको दाबी छ ।
२० वर्षको अवधिमा ६ पटकसम्म नेपालको ‘बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी’ तथा ‘बेष्ट इन्स्योरेन्स कम्पनी’का रूपमा सम्मानित भएको कम्पनीको भनाइ छ । त्यस्तै, कम्पनी मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड, बीमा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मान, कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रूपमा सम्मान र नेपाल पुनर्बीमा कम्पनीबाट सबैभन्दा बढी नाफामूलक पुनर्बीमा गरी सम्मानित भएको बताइएको छ ।