नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । सरकारले व्यवसायीका मागलाई बेवास्ता गर्दै एकतर्फी रूपमा काम गरेकाले आन्दोलन गर्न लागिएको सङ्घका महासचिव कमल तामाङको भनाइ छ । ‘सरकारले सम्बन्धित देशमा रहेको नेपाली दूतावासको सिफारिशका आधारमा ती देशमा जाने कामदारको तलब निर्धारण गर्दै आएको छ,’ महासचिव तामाङले भने, ‘सम्बन्धित देशको सरकारसँग सल्लाह नगरी नेपाल सरकारले एकलौटी रूपमा तलब निर्धारण गर्दा समस्या आउँछ ।”
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले विभागबाट अन्तिम श्रम स्वीकृति लिएका कामदारलाई विनाकारण फर्काउँदै आएको छ । यसले गर्दा व्यवसायी तथा कामदारको लाखौं रुपैयाँ गुम्ने व्यवसायीहरू बताउँछन् । अध्यागमनले अनावश्यक रूपमा कामदार फर्काउँदा टिकटवापतको पैसा गुम्ने गरेको छ । त्यस्तै, विभागले पनि पूर्व तथा अन्तिम स्वीकृतिका नाममा व्यवसायीलाई दु:ख दिने गरेको तामाङले बताए । केही समययता नेपाली कामदार रोजगारीमा जाने मुलुकका राजदूतहरूबीच कामदारको तलब निर्धारण गर्न होडबाजी चल्दै गएको व्यवसायीहरूको आरोप छ । तामाङले भने, ‘सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा गरेको गैरकानूनी क्रियाकलापको भण्डाफोर गर्न सङ्घले आन्दोलनको तयारी गरेको हो ।’
वर्ष ८, अंक ७०, बुधवार ११ मङ्सिर, २०६९