काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर माघ १५ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४७ हजार ५१६ जना आवेदकहरूमा फागुन ५ गते आईपीओ बाँडफाँट गरिएको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीले माघ ३ गते सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि अब कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । लघु जीवन बीमा क्षेत्रका कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले नेपाल बीमा प्राधिकरणबाट ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने गरी स्वीकृति प्राप्त गरेको थियो ।
हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।