काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २० प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. २५ करोड २८ लाख नाफा कमाएकोमा चालू आवमा रू. २० करोड २० लाखमा सीमित भएको छ । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत विक्रीबापत रू. ३२ करोड ९८ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. २६ करोड १२ लाखमा झरेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १८ पैसा रहेकोमा चालू आवको सोही अवधिमा ५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ३ पैसा छ ।
कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३९ करोड छ । कम्पनीले सञ्चित मुनाफामा रू. १ अर्ब २९ करोड र जगेडा कोषमा रू. १ अर्ब ५५ करोडभन्दा बढी सञ्चिति गरेको छ ।