सरकारले वीरगञ्ज चिनी कारखाना निजीकरण गर्ने भएको छ । कारखाना सञ्चालनको ‘मोडालिटी’ तयार गर्ने जिम्मा पाएको सार्वजनिक संस्थान निर्देशन बोर्डको सुझावअनुसार कारखानालाई निजीकरण गरी सञ्चालनमा ल्याइने भएको हो । ‘गत मङ्गलवार उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोर्डका प्रतिनिधिले कारखानालाई निजीकरण गर्न सुझाव दिएका थिए,’ मन्त्रालय स्रोतले भन्यो, ‘बोर्डको प्रतिवेदनसहितको औपचारिक सुझाव आएपछि कारबाही अघि बढ्नेछ ।’ बोर्डले दिएको मोडालिटीमा सुझावअनुसारकै कारखाना सञ्चालनमा ल्याइने उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन् ।
एक महीनाअघि मन्त्रिपरिषद्को बैठकले सो कारखाना पुन: सञ्चालनका लागि मोडालिटी तयार गर्न बोर्डलाई निर्देशन दिएको थियो । बोर्डले कारखाना सञ्चालन गर्न सकिने उपयुक्त मोडलको बारेमा अध्ययन गरिसकेको बोर्डका सदस्य लक्ष्मी शिल्पकारले जानकारी दिए । ‘हाम्रो अध्ययनबाट कारखानालाई निजीकरण वा सहकारीकरणमा लैजानुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘ती दुईमध्ये एक मोडलमा कारखाना सञ्चालनमा ल्याउँदा उपयुक्त हुने देखिन्छ ।’ बोर्डले आफ्नो सुझावसहितको औपचारिक प्रतिवेदन यसै साता बुझाउने उनले बताए । बोर्डले तयार गरेको प्रतिवेदनमा कारखानालाई निजीकरणमै लैजानुपर्ने उल्लेख भएको स्रोतले बताएको छ । निजीक्षेत्रले समेत कारखाना सञ्चालनका लागि प्रतिवेदनमा न्यूनतम २० वर्षसम्म जग्गा, भवन तथा मेशिनरी लिजमा दिएर कारखाना सञ्चालनमा ल्याउँदा उपयुक्त हुने उल्लेख गरेको छ ।
वर्ष ८, अंक ६७, आइतवार १० मङ्सिर, २०६९