काठमाडौं । विमानस्थलको स्तरोन्नतिका लागि उडान समय छोट्याइए तथा प्रतिकुल मौसम र एयर ट्राफिकका कारण उडान प्रभावित हुन सक्ने भन्दै यात्रुहरू टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक–इन काउण्टरमा रिपोटिङका लागि बुद्ध एयरलेअनुरोध गरेको छ ।
बुध्द एयरले विज्ञप्ति जारी गर्दै समयमै उडान भर्न आफूसँग पर्याप्त जहाजहरू रहेको जनाएको छ। ‘आईएफआर’ गन्तव्यमा रात्रि उडान भएता पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी भिएफआर गन्तव्यहरूमा भिजिबिलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ,' विज्ञप्तिमा भनिएको छ ।
नोभेम्बर ८ देखि करिब ५ महिनासम्म त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि उडान समय छोट्याइएको छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिकामा स्तरोन्नती गर्नु उचित रहेको बुद्ध एयरले जनाएको छ । स्तरोन्नति जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने बुद्ध एयरको विश्वास रहेको छ ।
'केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको छ । छोट्याइएको उडान समय जाडो महिनाको रहेको छ । जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित सञ्चालन प्रभावित हुनेगरेको छ,' विज्ञप्तिमा उल्लेख छ ।
बुद्ध एयरको अनुरोध
- यात्रुहरूलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउण्टरमा रिपोटिङका लागि अनुरोध छ ।
- उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउन्टर बन्द हुनेछ ।
- खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिनेछ ।
- उडान रद्द भएका टिकटहरूलाई ‘रिफण्ड प्रोसेसिङ’मा हालिनेछ ।
- अनलाइन टिकेटिङको हकमा त्यहिंबाट रिफण्ड हुनेछ । यसका लागि ३ देखि ४ दिनको समय लाग्नेछ । त्यसैगरी ट्राभल एजेन्सीबाट टिकट लिएकाहरूले त्यही सम्पर्क गर्नसमेत अनुरोध छ ।
- एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध गराईने छैन ।
- अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुहरूले फराकिलो समयको अन्तर वा एक दिन अगावै टिकट लिएमा थप सहज हुनेछन् ।