उद्घाटन भएको साढे २ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय वायुसेवा कम्पनी कुवेतको जजिरा, युनाइटेड अरब इमिरेट्स (यूएई)को फ्लाइ दुबई र थाइल्यान्डको थाई एयर एशियाले शनिवारदेखि उडान गर्दै छन् । यसले यो विमानस्थलमा छिटपुट उडान हुने सम्भावना देखाएको छ तर यस्तै प्रकृतिको पोखरा विमानस्थलबाट हालसम्म व्यावसायिक रूपमा अन्तरराष्ट्रिय उडान हालसम्म एउटा पनि हुन सकेको छैन । अहिले सरकारले लुम्बिनी विमानस्थलबाट उडान गर्न एकातिर बाध्यात्मक परिस्थिति पैदा गरिदिएको छ भने अर्कातिर केही सहुलियत पनि दिएको छ । यस्तो रणनीतिले यो विमानस्थलको भविष्यप्रति आशावादी हुन सकिँदैन ।
कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दिनमा १४ घण्टा मात्रै सञ्चालनमा आउने भएपछि प्रभावित हुने उडानलाई प्राधिकरणले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सार्न प्रोत्साहित गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कनेक्टिङ फ्लाइटको सुविधा दिने नीति लिएको छ । नेपालीसहित ३० ओटा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । यसरी उडान गर्नेमा सबैभन्दा धेरै उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स हुन् । त्यसपछि बाह्य कम्पनी फ्लाई दुबईले धेरै उडान गर्छ । त्रिभुवन विमानस्थलबाट उडान कटौती गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा जान कम्पनीहरूलाई प्रोत्साहन गरेको थियो । तर, यस्तो प्रोत्साहन पोखराका लागि लाभदायी देखिएको छैन । रुट पनि मिल्दैन ।
यी दुवै विमानस्थल विदेशी ऋणबाट बनाइएका हुन् । दुवै विमानस्थल बनाउनुअघि यसको बजारको अध्ययन पर्याप्त नभएको अहिलेको परिणतिले देखाएको छ । खासमा भन्ने हो भने यी दुवै विमानस्थल व्यापारिक सम्भावना हेरेर भन्दा पनि स्थानीयको माग र दबाबबाट बनेका हुन् । यी दुवै नेपालको प्रमुख पर्यटकीय गन्तव्य हुन् भन्नेमा कुनै विवाद छैन तर यी ठाउँमा सीधा उडानका लागि केही समस्या छ जसको समाधान गर्न सरकार चुकेको छ । एकाध उडान शुरू हुनासाथ सरकारले आफ्नो सफलता भनी गफ दिने गर्छ तर यी दुवै विमानस्थल निर्माण गर्दा नेपालले केही कुरामा ध्यान दिन नसकेको पक्का हो ।
भैरहवा विमानस्थल सञ्चालनका लागि नेपालको पश्चिम क्षेत्रबाट हवाई रुट आवश्यक पर्छ । नेपालबाट पश्चिमतर्फ जाने विमानहरू सीधै पश्चिम जान पाए पनि नेपाल छिर्न भने सिमराको हवाई प्रवेश विन्दु नै प्रयोग गर्नुपर्छ । पश्चिमबाट आएको विमान सिमराबाट नेपाल प्रवेश गरी भैरहवा जाँदा भाडा महँगो पर्छ । यसबाट वायुसेवा कम्पनीलाई नाफा हुँदैन । त्यसैले सरकारले नेपाल प्रवेशका लागि भैरहवा, नेपालगञ्ज वा सुदूरपश्चिमको विन्दु उपयोग गर्न भारतसँग कूटनीतिक पहल गर्नु आवश्यक हुन्छ । नेपालको राजनीतिक नेतृत्वले कूटनीतिलाई ज्यादै हलुका रूपमा लिएको देखिन्छ । नभनीकन थाहा पाउनुपर्ने र थाहा दिने काम कूटनीतिमा हुन्छ । तर, नेपाल यस्तो कूटनीतिमा अभ्यस्त हुन सकेको छैन । परिणाम नसोची प्याच्च बोलिदिने बानीले देशहरूको सम्बन्धमा निकै असर पर्छ । कहिले चीनलाई रिझाउने त कहिले भारतलाई रिझाउने नीति मुलुकको कूटनीतिका लागि घातक हुन सक्छ । तर, नेपालको राजनीतिक नेतृत्वले यसलाई गम्भीर रूपमा नलिँदा दुवै देशबाट चाहेजति लाभ लिन सकिरहेको छैन । भुटान, बंगलादेश, लाओस्, भियतनाम आदि देशले भारत र चीनबाट राम्रो लाभ लिएर प्रगति गरेका छन् । तर, नेपाल चीन र भारत दुवैसँग ऐतिहासिक सम्बन्ध उचाइमा पुगेको भन्नमा मात्रै रमाइरहेको छ भन्न सकिन्छ । दुवै देशलाई विश्वासमा लिएर राष्ट्रिय स्वार्थअनुसार काम गर्न नेपाल चुकेको छ । त्यसैको मारमा यी दुई विमानस्थल परेको देखिन्छ ।
भूसामरिक स्वार्थ निकै संवेदनशील हुन्छ । यो नेपालले नबुझेका होइन तर त्यसअनुसार काम गर्न भने चुकेको पाइन्छ । त्यसैले यी दुवै विमानस्थल सञ्चालनमा यी दुई देशबाट अपेक्षित सहयोग पाइरहेको छैन । यस्तै कूटनीतिक अपरिपक्वता रहिरहे यी दुई विमानस्थल विश्वका कतिपय खेर गएका ठूला पूर्वाधारजस्तै रहिरहने सम्भावना अत्यधिक देखिन्छ ।