विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यमी विकास समितिले आगामी चैत्र ७ गतेदेखि ९ गतेसम्म ढाका महोत्सव गर्ने तयारी गरेको छ । ढाका उद्योगको प्रवर्द्धन, बजारीकरण र आधुनीकरणमा सहयोग पुर्याउने उद्देश्यले विराटनगरमा ढाका महोत्सव आयोजना गर्ने तयारी भएको हो ।
महिला उद्यमी विकास समितिकी संयोजक सरु केसीका अनुसार विराटनगरको जैन भवनमा हुने महोत्सवमा कोशी प्रदेशका १४ओटै जिल्लाका ढाका उद्योगसँँग सम्बन्धित करीब ३ सय महिला उद्यमीको सहभागिता रहनेछ । महोत्सवमा ढाका कपडा र त्यसबाट बनेका तयारी कपडाको प्रदर्शनी हुनेछ ।
यसका साथै ढाका कपडाका लागि चर्चित पाल्पाली ढाका उद्योगसँग सम्बन्धित उद्यमी पनि महोत्सवमा सहभागी हुनेछन् । तीन दिनसम्म चल्ने महोत्सवमा ढाकाको कपडाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिनुका साथै ढाका उत्पादक, उद्यमी र वितरकसहित विज्ञको पनि जमघट हुने बताइएको छ ।
महोत्सवमा ढाका कपडा तान प्रतियोगिता, संस्कृतिसँग जोडेर ढाकाको फेशन शो, ढाका पोशाक प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको महिला उद्यमी विकास समितिकी संयोजक केसीले जानकारी दिइन् । ‘नेपाली भेषभूषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ मूल नारा राखेर आयोजना हुने महोत्सवमा सहभागी हुने महिला उद्यमीलाई स्टल नि:शुल्क गरिएको नेपाल उद्योग महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।