रायोको सागमा अत्यधिक विषादी पाइएको केही दिनपछि सिमीमा पनि अत्यधिक विष पाइएको छ । तरकारीको थोक बजारमा यस्तो परीक्षण नियमित हुनुपर्ने र विषादीयुक्त भए त्यसको विक्रीमा रोक लगाउनुपर्नेमा त्यस्तो हुन नसक्दा खुला विक्री भइरहेको छ र सर्वसाधारणले यस्तो विषादीयुक्त तरकारी खाइरहेका छन् । यसबाट पर्ने गम्भीर असरबारे उपभोक्ता सचेत देखिँदैनन् र सचेत भए पनि यसको विकल्प छैन ।
यस्तोमा सरकारले जानाजान आफ्ना नागरिकलाई विषादीयुक्त तरकारी र फलफूल खान बाध्य पारेको छ भन्न सकन्छ । सर्वसाधारणको जीवन जोखिममा परिरहेको अवस्थामा सरकार गम्भीर हुनुपर्नेमा त्यस्तो भएको अनुभव गर्न सकिएको छैन ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणको क्रममा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४२ प्रतिशतसम्म इन्जाइम इन्हिबिशन पाइएको छ । मापदण्डअनुसार इन्जाइम इन्हिबिशन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिबिशन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुन: परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्वीकृत गरी नष्ट गर्नुपर्ने व्यवस्था छ । त्यस्तै अन्य तरकारी र फलफूलमा पनि यस्तो व्यवस्था छ जुन किसिमले अहिले विषादीको प्रयोग भइरहेको छ, त्यसले मानव स्वास्थ्य र वातावरणमा खतरनाक जोखिम थपेको छ । कृषि बालीमा विषादीको प्रयोग नै नगर्ने भन्ने हुँदैन । तर, नेपालमा त्यसको प्रयोग विधि र बजारमा पठाउने प्रविधि निकै कमजोर छ । विकसित देशमा पनि विषादीको प्रयोग नहुने होइन तर त्यसलाई कसरी कम असर पार्ने तुल्याउने भन्नेमा त्यहाँका किसानदेखि उपभोक्तासम्म सचेत छन् ।
तराई र काठमाडौं उपत्यका वरपरका व्यावसायिक तरकारी खेती गरिने स्थानमा विषादीको भयावह प्रयोग भइरहेको छ तरकारी बालीमा देशभर औसतमा १६०० ग्राम प्रतिहेक्टर विषादी प्रयोग भइरहेको छ अनुमान छ । अर्थात्, नेपालमा थोरै क्षेत्रमा धेरै विषादी प्रयोग भइरहेको छ । त्यस्तै नेपालमा प्रतिबन्धित विषादीको प्रयोग भइरहेको छ जुन अवैध तरीकाले आयात हुन्छ । त्यस्तो विषादीले गम्भीर असर पुर्याउने हुन्छ । यस्तो भए पनि प्रयोगशाला धेरै ठाउँमा नभएकाले केकति विषादी मिसिएको छ भन्ने कुरा उपभोक्ताले थाहासमेत पाउँदैनन् । अझ उदेकलाग्दो कुरा, अग्र्यानिक तरकारी भन्दै विषादी हालिएको हरियो तरकारी विक्री भइरहेको छ भने अग्र्यानिक तरकारी विक्री हुन नसकेको अवस्था छ । कुन अग्र्यानिक हो र कुन होइन भन्ने परीक्षण गरेर प्रमाणीकरण गरिदिने व्यवस्था नहुँदा यस्तो भएको हो ।
नेपालमा भारतबाट आयात गरिएको तरकारी र फलफूलमा मात्रै विषादी हालिएको हुन्छ भन्ने धेरैको सोच पाइन्छ । तर, के बिर्सनु हुँदैन भने भारतबाट विषादी हालेर तरकारी आए पनि नेपाल आइपुग्दा केही मात्रामा विषादी उडिसकेको हुन्छ । तर, नेपालकै तरकारीमा भने त्यो विषादी बढी मात्रामा रहिरहेको हुन्छ । त्यसैले विषादीको असर कम गर्न सरकारले विशेष अनुगमन, परीक्षण र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।
अर्को, उपभोक्तालाई व्यापक रूपमा विषादीयुक्त तरकारी चिन्ने, त्यस्तो विषादीयुक्त तरकारी कसरी विषादीरहित पार्ने जस्ता कुराको सचेतना दिन पनि आवश्यक छ । विषादीरहित तरकारीखेती त अहिलेको समय निकै गाह्रो छ किनभने यो विना फसल सप्रँदैन, कीराले नष्ट गरिदिन्छ । त्यसो हुँदा यसलाई पूर्ण रूपमा रोक लगाउन निकै गाह्रो हुन्छ । तर, तरकारी वा फलफूल बजारमा लैजाँदा त्यसको न्यूनीकरणका उपाय अपनाउन बाध्य पारिनुपर्छ ।