नेपालमा वित्तीय साक्षरता अभियान प्रशस्त भएको देखिए पनि त्यसको प्रभावकारिताबारे अध्ययन भएको छैन । तल्लो तहमा पुगेर हेर्दा अझै वित्तीय साक्षरता पर्याप्त र प्रभावकारी नभएको स्पष्टै देखिन्छ । गत असार ४ गते न्यू बिजनेश एज प्रालिको आयोजना तथा सिद्धार्थ बैंक लिमिटेडको प्रायोजनमा नेपालगञ्जको सिद्धार्थ कटेजमा उद्यमी महिलाका लागि वित्तीय साक्षरता तथा उद्यमशीलतासम्बन्धी एकदिने तालीम कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, न्यू बिजनेश एज प्रालिका अध्यक्ष, महिला उद्यमी संघ बाँकेकी अध्यक्ष, महिला उद्यमी संघकी केन्द्रीय कोषाध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका पदाधिकारीसहित १ सयभन्दा बढी उद्यमी महिलाको सहभागिता रहेको यस कार्यक्रममा वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी विषयमा गहन छलफल तथा अन्तरक्रिया भएको थियो ।
विश्व वित्तीय सप्ताहको अवसरमा नेशनल बैंकिङ इन्स्टिच्युटको आयोजनामा गतचैत ९ गते कर्णाली प्रविधि बहुमुखी क्याम्पस, कालीकोटमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो । भर्चुअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा ३५ जना विद्यार्थी र केही शिक्षकको सहभागिता थियो । उक्त कार्यक्रममा बचत, खर्च, पारिवारिक बजेट, विद्युतीय बैंकिङ कारोबारलगायत वित्तीय व्यवस्थापन, धितोपत्र बजार, बीमा, विप्रेषणलगायत विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो ।
वित्तीय साक्षरताका लागि नेपाल राष्ट्र बैंक, वित्तीय प्रणालीका सबैै सेवाप्रदायक संस्थाले थप कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । साथै संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूको प्रतिबद्धता अत्यावश्यक देखिन्छ ।
त्यसैगरी, गत असार ११ गते काठमाडौंको हायात होटेलमा आयोजित एक कार्यक्रममा मौद्रिक नीतिसँगको आगामी अपेक्षा, आर्थिक र सामाजिक विकासका लागि विप्रेषणको दिगो उपयोगिता र आगामी दिशानिर्देश, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टम र क्रश बोर्डर पेमेन्टमा चुनौतीलगायत विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो । पूर्वअर्थमन्त्री, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक, निर्देशक, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ, बैंक/वित्तीय संस्थाका उच्च पदस्थ व्यक्तित्व तथा सम्बद्ध क्षेत्रका विज्ञहरूको सहभागिता रहेको यस कार्यक्रममा आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बद्ध विभिन्न समसामयिक विषयमा छलफल भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट प्रमाणित वित्तीय साक्षरता प्रशिक्षकको हैसियतले मैले थुप्रै वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया र छलफल कार्यक्रममा सहभागी हुने अवसर पाउँदै आएको र माथि उल्लिखित तीनओटै कार्यक्रममा पनि सहभागी भएको थिएँ । उल्लिखित कार्यक्रमहरूमा मुलुककै प्रबुद्ध वर्ग र औपचारिक शिक्षाका साथै वित्तीय साक्षरताका दृष्टिले उत्कृष्ट वर्गमा पर्ने व्यक्तित्व सहभागी हुनुहुन्थ्यो । पहिला दुईओटा कार्यक्रममा प्रशिक्षक र तेस्रो कार्यक्रममा सहभागीको रूपमा सहभागी भइरहँदा वित्तीय साक्षरताका हिसाबले उत्कृष्ट केही वक्ताले वित्तीय व्यवस्थापनलाई खासै चासो नदिएको उहाँहरूकोे व्यक्त धारणाबाट स्पष्ट बुझिन्थ्यो । नेपालगञ्जमा सञ्चालित कार्यक्रममा सहभागीहरूले वर्षौंदेखि उद्यमी भए पनि वित्तीय सचेतनाका दृष्टिले आफूहरू कमजोर रहेको र कहीँकतैबाट प्रशिक्षित हुने अवसर नमिलेको, राज्यले महिला उद्यमीलाई उपलब्ध गराएका सेवासुविधाका बारेमा अनभिज्ञ रहेको, बैंकिङ क्षेत्रबाट प्राप्त हुने सहुलियत र प्राथमिकताप्राप्त कर्जाका बारेमा अनभिज्ञ रहेको, औपचारिक क्षेत्रबाट कर्जा लिने प्रक्रिया झन्झटिलो रहेको र वित्तीय पहुँचमा उल्लेख्य सुधार भए पनि कर्जा लिन सहज वातावरण बन्न नसकेकोलगायत विचार राखेका थिए । त्यसैगरी कर्णाली प्रविधि बहुमुखी क्याम्पसका केही सहभागी (शिक्षक) ले वित्तीय साक्षरताका सन्दर्भमा आफूहरूमा पर्याप्त ज्ञान नभएको, आफूहरूले धितोपत्रको प्राथमिक निष्कासनमा विगतदेखि नै सहभागी हुँदै आए पनि कारोबार गरेर लाभ लिने सम्बन्धमा अनभिज्ञ रहेकोलगायत विचार व्यक्त गरेका थिए ।
उल्लिखित तीनैओटा परिदृश्यले मुलुकमा वित्तीय साक्षरताको पछिल्लो अवस्थाको चित्रण गर्छ । राष्ट्र बैंक र बैंक/वित्तीय संस्थाका तर्फबाट यस क्षेत्रमा पर्याप्त प्रयासको थालनी गरिएको भए पनि नतिजा लाभदायक बन्न नसकेको देखिन्छ । राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७९ मा उल्लेख गरिएका लक्षित वर्ग निश्चित आम्दानी प्राप्त गर्ने, नियमित आम्दानी नभएका, विप्रेषण प्रापक, महिला, विद्यार्थी र युवा वर्ग मात्र नभई अन्य वर्ग पनि वित्तीय साक्षरताबाट विमुख वा अनभिज्ञ रहेको अवस्था माथिको उदाहरणबाट बुझ्न सकिन्छ ।
बैंकमा खाता खोली बचत राख्ने र झिक्ने अवस्थालाई वित्तीय रूपले साक्षर भएको मानिने विगतको परिभाषालाई परिमार्जन गर्दै राष्ट्र बैंकले वित्तीय साक्षरताभित्र वित्तीय ज्ञान, शीप, मनोवृत्ति र व्यवहारलाई समेटेको छ । यी नै विषयलाई समेट्दै पछिल्लोपटक राष्ट्र बैंकले वित्तीय साक्षरता आधार सर्वेक्षण, २०२२ सार्वजनिक गरेको छ ।
बैंकमा खाता खोली बचत राख्ने र झिक्ने अवस्थालाई वित्तीय रूपले साक्षर भएको मानिने विगतको परिभाषालाई परिमार्जन गर्दै राष्ट्र बैंकले वित्तीय साक्षरताभित्र वित्तीय ज्ञान, शीप, मनोवृत्ति र व्यवहारलाई समेटेको छ । यिनै विषयलाई समेट्दै पछिल्लोपटक राष्ट्र बैंकले वित्तीय साक्षरता आधार सर्वेक्षण, २०२२ सार्वजनिक गरेको छ । बहुचरण नमूना विधिबाट ९ हजार ३६१ जनालाई छनोट गरी तयार गरिएको वित्तीय साक्षरताको तथ्यांकअनुसार राष्ट्रियस्तरमा ५७ दशमलव ९ प्रतिशत जनता वित्तीय रूपले साक्षर छन् भने प्रदेशगत हिसाबले बाग्मती प्रदेशमा सबैभन्दा बढी ६४ दशमलव ५ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ५२ प्रतिशत र लंैगिक हिसाबले पुरुषको संख्या ६१ दशमलव ८ प्रतिशत र महिलाको संख्या ५६ दशमलव ५ प्रतिशत रहेको छ । सीमित जनसंख्यालाई आधार मानी तयार गरिएको उक्त सर्वेक्षणले मुलुकको वास्तविक वित्तीय साक्षरताको अवस्था देखाउन नसकेको भन्दै कतिपय विज्ञले आफूहरू उक्त तथ्यांकसँग सहमत हुन नसकेको धारणा पनि व्यक्त गर्ने गरेको पाइन्छ ।
७५३ स्थानीय तहमध्ये बझाङ जिल्लाको साइपालबाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको, २०८१ वैशाखमा ११० ओटा बैंक/वित्तीय संस्थाका ११ हजार ५६६ शाखाबाट मुलुकभर बैंकिङ सेवा उपलब्ध भएको र प्रतिशाखाले २ हजार ५२२ जनालाई वित्तीय सेवा प्रवाह गरिरहेको तथ्यांकले देखाउँछ । त्यसैगरी राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले ४० प्रतिशत जनसंख्या अझै पनि वित्तीय पहुँचबाट बाहिर रहेको देखाएको छ भने साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ्सले तयार गरेको पेमेन्ट इनोभेशन एन्ड रिस्क इन साउथ एशिया प्रतिवेदनले ४६ प्रतिशत जनसंख्या बैंकिङ सुविधाबाट वञ्चित भएको उल्लेख गरेबाट जनसंख्याको ठूलो अंश अझै पनि वित्तीय सेवाबाट विमुख रहेको देखिन्छ । यसरी पछिल्लो समय लक्ष्य गरिएअनुरूप वित्तीय पहुँच सहज र सर्वसुलभ हुन नसक्नुमा मुलुकमा वित्तीय साक्षरताको अवस्था कमजोर हुनु नै हो भन्न सकिन्छ ।
सर्वसाधारणलाई आम्दानी, बचत, खर्च, पारिवारिक बजेटलगायत वित्तीय व्यवस्थापन गरी अवकाश जीवन र भविष्यमा आइपर्ने खर्च व्यवस्थापन गर्ने, विप्रेषणको उत्पादनशील उपयोग, बीमाबाट जोखिम न्यूनीकरण, उद्यमशीलताको विकास, वित्तीय क्षमता विस्तारलगायत सन्दर्भमा वित्तीय साक्षरता अपरिहार्य हुन्छ । यसका साथै, प्रविधिको विकाससँगै परम्परागत बैंकिङ कारोबारका साथै आधुनिक विद्युतीय बैंकिङ कारोबारका उपकरणहरूको आवश्यकता, प्रयोग, फाइदा/बेफाइदा, हुनसक्ने जोखिम र सावधानीलगायतबारे ज्ञान, शीप र व्यवहारगत चेतना अत्यावश्यक देखिन्छ । शतप्रतिशत जनता वित्तीय रूपले साक्षर रहेको डेनमार्कमा प्रत्येक व्यक्तिले १३ वर्षको उमेर हुँदा वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रम अध्ययन गर्नुपर्ने व्यवस्था छ भने भारतमा रिजर्भ बैंक अफ इन्डिया, बीमा कम्पनीका नियामक निकाय, सेक्युरिटी बोर्ड र प्रोभिडेन्ट फन्ड मिलेर तयार गरिएको स्मार्ट मनि नामक पाठ्यक्रम ८ देखि १२ कक्षासम्म अध्यापन गराउने गरिन्छ । यसरी हेर्दा विद्यालयमा नै वित्तीय साक्षरतालाई अनिवार्य बनाउन सकेमा यस क्षेत्रमा उत्साहजनक प्रगति हुने देखिन्छ ।
मुलुकको सन्तुलित आर्थिक विकासका लागि सबै तह र तप्काका जनतालाई आफ्नो क्षमता र आवश्यकताअनुसारको वित्तीय सेवाको उपलब्धता अनिवार्य शर्त हो । यसो हुन सकेमा आर्थिक गतिविधिमा सबैको संलग्नता सम्भव हुन सक्छ । यसका लागि वित्तीय समावेशीकरणको अवधारणा अनिवार्य हुन्छ । यसभित्र वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय सेवाको लागतलाई समेटिएको हुन्छ । अहिले मुलुकभर वित्तीय पहुँचको उल्लेख्य विस्तार भएकाले त्यसको उपयोगका लागि वित्तीय साक्षरता र वित्तीय सेवाको लागत न्यून गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । नियामकीय निर्देशनको अनुपालना गर्ने सिलसिलामा पछिल्लो समय सञ्चालित अधिकांश वित्तीय साक्षरता कार्यक्रम आपूर्ति पक्षबाट सञ्चालन भएको पाइन्छ । यसरी वित्तीय साक्षरताको बढ्दो महत्त्वलाई दृष्टिगत गर्दै आपूर्ति पक्षका साथसाथै माग पक्षलाई पनि सबल बनाउन सके सबैै तह र तप्काका जनसंख्यालाई वित्तीय रूपले साक्षर बनाउने कार्य प्रभावकारी बन्न सक्छ । यसका लागि नेपाल राष्ट्र बैंक, वित्तीय प्रणालीका सबैै सेवाप्रदायक संस्थाहरूको मौजुदा र थप कार्यक्रमका साथसाथै नेपाल सरकारका तीनै तह संघ, प्रदेश र स्थानीय तहको प्रतिबद्धता अत्यावश्यक देखिन्छ ।
लेखक वित्तीय साक्षरता प्रशिक्षक हुन् ।