
पुस २५, काठमाडौं । राज्यलाई कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य हो । प्रत्यक्ष र अप्रत्यक्ष करका धेरै प्रकारहरू हुन्छन् । हामीले अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट राज्यलाई कर तिरिरहेका छौँ । राज्यलाई हामीले तिर्नुपर्ने आयकर प्रत्यक्ष कर अन्तरगत पर्दछ । कस्तो व्यक्तिले कर तिर्नुपर्छ र कति तिर्नुपर्छ भन्ने विषयमा सबैलाई जानकारी नहुन सक्छ ।
के हो आयकर ?
कुनैपनि व्यक्ति वा निकायले प्राप्त गरेको करयोग्य आम्दानीबाट सरकारलाई बुझाउनुपर्ने रकमलाई नै आयकर भनिन्छ । राज्य अनुसार करको दायरा र व्यवस्था फरक–फरक हुन सक्दछन् । नेपालमा आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ मा गरिएको व्यवस्थाको आधारमा सरकारले कर लिँदै आएको छ ।
क–कसले आयकर तिर्नुपर्छ ?
आयकर ऐन २०५८ अनुसार करयोग्य आम्दानी गर्ने वा आर्थिक लाभ प्राप्त गर्ने प्रत्येक प्राकृतिक व्यक्ति तथा निकायले कर तिर्नु अनिवार्य हुन्छ । प्रत्येक व्यक्तिले आयवर्ष समाप्त भएको तीन महीनाभित्र सो वर्षको आय विवरण सम्बन्धित निकायमा बुझाउनुपर्छ । र सोही विवरण अनुसार कर तिर्नुपर्छ ।
आयकर कति तिर्नुपर्छ ?
नेपालको आयकर ऐन २०५८ मा आयकरको दर निर्धारण गरिएको छ । यस ऐनको पछिल्लो संशोधन २०७३ अनुसार आयकर १ देखि ४० प्रतिशतसम्म निर्धारण गरिएको छ । रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभबाट प्राप्त करयोग्य आयबाट तोकिएको दर अनुसार कर तिर्नुपर्छ । एक आयवर्षमा कुनै प्राकृतिक व्यक्तिको करयोग्य आयमा एकल र दम्पतीका लागि निम्न दरमा कर लाग्छः
करको दरः एकल
करको दरः दम्पती

आयकर ऐन २०५८ अनुसार एकल प्राकृतिक व्यक्तिका लागि रू. ३ लाख ५० हजारसम्म कर लाग्दैन । तर रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर तिर्नुपर्दछ । रू. ३ लाख ५० हजारभन्दा बढी रू. ४ लाख ५० हजारसम्मको करयोग्य आयमा रू. ३ लाख ५० हजारसम्म रू. ३ हजार ५ सय र सो भन्दा बढीमा १५ प्रतिशतका दरले कर लाग्दछ ।
यस्तै रू. ४ लाख ५० हजारभन्दा बढी करयोग्य आयमा रू. ३ लाख ५० हजारसम्मको रू. ३ हजार ५ सय र थप रू. १ लाख आयको १५ प्रतिशतले रू. १५ हजार गरी रू. १८ हजार ५ सय र सो भन्दा बढी रू. २५ लाखसम्मको थप आयमा २५ प्रतिशतका दरले कर लाग्दछ ।
यसैगरी रू. २५ लाखभन्दा बढी करयोग्य आय भएमा रू. ४ लाख ५० हजारसम्मको रू. १८ हजार ५ सय र त्यसमा रू. २५ लाखसम्मको थप रू. २० लाख ५० हजारको २५ प्रतिशतले हुन आउने रू. ५ लाख १२ हजार ५ सय गरी रू. ५ लाख ३१ हजार र रू. २५ लाखभन्दा बढी भएजति आयको ४० प्रतिशत अतिरिक्त कर जोडेर तिर्नुपर्छ ।
दम्पतीको हकमा पनि माथि तालिकामा उल्लिखित दरअनुसार करयोग्य आयको आधारमा करको रकम निर्धारण गरिन्छ । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा र निवृत्तिभरण बापतको आयमा भने एकल व्यक्तिका लागि रू. ३ लाख ५० हजार र दम्पतीका लागि रू. ४ लाखसम्म कर लाग्ने छैन ।