म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले स्वसफुर्त रुपमा घरको पेटी र टहरा भत्काएर सडक विस्तार गरेका छन् ।
मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजना मार्फत सडक फराकिलो पार्न स्थानीयबासीले संरचना भत्काएर सघाएका हुन् । यसअघि ३.५ मिटर फराकिलो सडकको दायाँवायाका संरचना हटाएर ५.५ मिटर फराकिलो बनाइएको छ ।
हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकको दाया र बाया करिब चार सय मिटर लामो नाली निर्माण भएको छ । मालिका गाउँपालिकाले रु. ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले रु. ५ लाख ४१ हजार ८३३ श्रमदान गरेका छन् ।
सडक बिस्तार भएपछि सवारी साधन आवत जावत सहज भएको छ । ३०० बढी घर रहेको दरवाङ बजारको अन्य टोलमा यसअघिका वर्षमा पक्कि नाली र सडक निर्माण भएको थियो । रासस