काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अवरूद्ध भएपछि उक्त कम्पनीको शेयरमा लगानी गर्ने योग्य संस्थागत लगानीकर्ताले उक्त शेयर किनबेच गर्न थप समय कुर्नुपर्ने देखिएको छ ।
यसबाट समयमै शेयर किनबेचबाट प्राप्त हुन सक्ने फाइदाबाट वञ्चित हुनसक्ने योग्य संस्थागत लगानीकर्ताहरूले बताएका छन् । हालको कानूनी व्यवस्थाअनुसार योग्य संस्थागत लगानीकर्ताले खरीद गरेको शेयर सर्वसाधारणलाई शेयर बाँडफाँट भएको मितिले ६ महीनापछि मात्र किनबेच गर्न पाउँछन् ।
कम्पनीले प्रतिकित्ता ९१२ रुपैयाँमा योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर गतवर्ष माघ १५ गते बाँडफाँट गरेको थियो । त्यसपछि ८ महीना बितिसकेको छ । हालको कानूनी प्रावधानअनुसार कम्पनीले योग्य संस्थागत लगानीकर्ताले तिरेको पैसाको १० प्रतिशत घटाएको मूल्यमा सर्वसाधारणलाई शेयर बेच्नुपर्छ । यसअनुसार कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार २७ गतेदेखि १ लाख १५ हजार ५९६ कित्ता शेयर आईपीओमार्फत विक्री गर्न लागेको थियो ।
- आईपीओअघि निकालिएको वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था खस्कियो
- विद्युत् प्राधिकरणको बक्यौता पनि सम्भावित दायित्वमा राखेपछि कम्पनीको वित्तीय स्थिति खराब
- रिलायन्सको शेयर छिटो किनबेचमा ढिलाइ हुने हुँदा अपरच्युनिटी कस्ट गुमाउने योग्य संस्थागत लगानीकर्ताको भनाइ
सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि निकालिएको वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था खस्किएको पाइएपछि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा राखिएकोबारे प्रश्न उब्जेको थियो । खासगरी योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ जारी गर्दा नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने सम्भाव्य दायित्व वित्तीय विवरणमा उल्लेख गरिएको थिएन । फलस्वरूप कम्पनीको वित्तीय स्थिति राम्रो रहेको आधारमा कम्पनी शेयर मूल्य उच्च भएको थियो । तर, सर्वसाधारणको लागि आईपीओ जारी गर्नुअघि सार्वजनिक वित्तीय विरणमा प्राधिकरणलाई तिर्नुपर्ने रकमलाई पनि सम्भावित खर्चमा राखेपछि कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको थियो ।
सरोकारवालाले र संसद्मा पनि यसबारे प्रश्न उब्जिएपछि धितोपत्र बोर्डले आईपीओ अनुमति रद्द गरिदियो, जसले गर्दा योग्य संस्थागत लगानीकर्ताले रिलायन्सको शेयर किनबेच गर्न थप कुर्नुपर्ने अवस्था आउन लागेको हो । ‘सर्वसाधारणलाई पनि छिटो आईपीओ जारी गरिएको भए हामीले रिलायन्सको शेयर छिटो किनबेच गर्न सक्थ्यौं,’ प्रभु क्यापिटलका चिफ बिजनेश अफिसर वासु थपलियाले भने, ‘यसबाट हामीलाई थप लगानीको अवसर जुट्थ्यो, त्यो हुन सकेन ।’
आफ्नो लगानी लामो समयदेखि बन्धक भएको अवस्थामा जतिसक्दो चाँडो निकास निकाल्न सम्बद्ध कम्पनी र नेपाल धितोपत्र बोर्डसमक्ष बारम्बार आग्रह गरेको उनले जानकारी दिए । नियामकले नै स्वीकृति दिएर नियामकले नै आईपीओ निष्कासन गर्न रोकेको अवस्थामा योग्य संस्थागत लगानीकर्ताको लगानी लामो समय नरोकिने गरी निकास निकाल्नुपर्ने माग उनको छ ।
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा रिलायन्सको आईपीओमा भएको लगानी लामो समय बन्धक हुँदा उक्त लगानी अन्य विकल्पमा लैजाने बाटो साँघुरिने बताउँछन् । ‘यो ढिलाइले हामीले अपरच्युनिटी कस्ट गुमाउनुपर्ने हुन्छ,’ उनले भने । कुमारी क्यापिटल र यसको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्डसमेतको रिलायन्सको शेयरमा लगानी छ । उनले नियामक निकायले यो समस्या छिटो सल्टाउनुपर्नेमा जोड दिए । नियामक निकाय बोर्ड भने प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखासमितिको निर्देशनपछि मात्र प्रक्रिया अघि बढाउने मनस्थितिमा छ । संसदीय समितिले वित्तीय अवस्था पहिले देखाइएको भन्दा नराम्रो हुँदाहुँदै प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएकोमा प्रश्न गरेको थियो ।
सार्वजनिक लेखासमितिलाई बोर्डले रिलायन्सको आईपीओ स्वीकृति सम्बन्धमा कुनै कैफियत नभएको उत्तर पठाइसकेको छ । बोर्डका एक उच्च अधिकारीले स्वीकृति प्रक्रियामा कुनै कैफियत नभएको भन्दै बोर्डले लेखासमितिको निर्देशन कुरेर बसेको बताए । अधिकतम मूल्यमा सबैभन्दा बढी कित्ता आईपीओ माग गर्ने प्रभु क्यापिटलले नियामकले दिएको स्वीकृत मूल्यलाई आधार मानेर मूल्य कबोल गरेको बताएको छ । ‘योग्य संस्थागत लगानीकर्ताका लागि सार्वजनिक गरेको आह्वानपत्रलाई लगानीको धारणा बनाउन आधार बनाइएको हो,’ थपलियाले भने ।
लगानीकर्ता भने अर्बौं रकम बक्यौता रहेको कम्पनीको शेयरमा चर्को मूल्य तिर्न तयार छैनन् । लगानीकर्ता तिलक कोइरालाले रिलायन्सको आईपीओ स्वीकृति दिने नियामकप्रति प्रश्न गरे । उनले कमजोर वित्तीय अवस्था रहेको स्पष्ट हुँदाहुँदै केको आधारमा स्वीकृति दिएको, योग्य संस्थागत लगानीकर्ताले के आधारमा ९१२ रुपैयाँ मूल्य कबोल गरेको, प्रत्याभूतकर्ताले के आधारमा सकार्न सम्झौता गरेको जस्ता कुरालाई आम लगानीकर्तामाझ स्पष्ट पार्नुपर्ने मागसमेत गरेका छन् ।
सडकदेखि सदनसम्म तातेको विषयमा सम्बद्ध कम्पनीले पनि आम सर्वसाधारणमा आईपीओ जारी गर्न योग्य भएको प्रमाणित गर्नुपर्ने माग कोइरालाले गरे ।