काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्येकै सर्वाधिक शेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडले उच्च लाभांश प्रस्ताव गरेको छ ।
असोज ९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो, जुन विगत १० वर्षमा कम्पनीले वितरण गरेको लाभांशमध्ये सबैभन्दा उच्च हो । जम्मा १ अर्ब ५७ करोड रुपैयाँ लाभांशका रूपमा वितरण गर्ने निर्णय कम्पनी सञ्चालक समितिले गरेको नेपाल स्टक एक्सचेन्जमार्फत सार्वजनिक सूचनामा उल्लेख छ ।
कम्पनीले हालसम्म वितरण गरेको लाभांशको अवस्था हेर्दा यसअघि प्रतिकित्ता १ हजार ५८० रुपैयाँसम्म वितरण गरेको तथ्यांक छ । उक्त लाभांश कम्पनीले अघिल्लो आव २०७९/८० को मुनाफाबाट वितरण गरेको थियो । पछिल्ला ३ आव कम्पनीको लाभांश निरन्तर बढ्दो क्रममा रहेको छ । आव २०७८/७९ को मुनाफाबाट कम्पनीले प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । कम्पनीले सबैभन्दा कम नगद लाभांश आव २०७६/७७ को मुनाफाबाट प्रतिकित्ता १०० रुपैयाँ वितरण गरेको देखिन्छ । लाभांश वितरणलाई निरन्तरता दिँदै आएको कम्पनीले नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूलाई नै चुनौती दिने गरी लाभांश वितरण गर्दै आएको हो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५० हजार ३९८ रुपैयाँ ९० पैसा छ । साना लगानीकर्ताको पहुँचमा कम पर्ने कम्पनीको धितोपत्र दोस्रो बजारमा ९ लाख २० हजार ७०० कित्ता मात्र शेयर सूचीकृत रहेको छ । असोज ९ गतेको कारोबारमा कम्पनीको कुल बजार पूँजीकरण ४६ अर्ब ४० करोड २२ लाख रुपैयाँभन्दा बढी कायम भएको नेप्सेको तथ्यांकले देखाउँछ । युनिलिभर नेपालको शेयरमूल्य उच्च हुनुको पछाडि कम्पनीले वितरण गर्दै आएको उच्च लाभांश र बलियो वित्तीय अवस्था रहेको लगानीकर्ता बताउँछन् । कम्पनीले हालसम्म नगद लाभांश मात्र वितरण गरेको देखिन्छ । कम्पनीको वित्तीय अवस्थासमेत बलियो रहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
वार्षिक प्रतिशेयर आम्दानी २ हजार १४४ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात भने २२ दशमलव शून्य ७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ भने गत आवको चौथो त्रैमाससम्म ५ हजार २८५ रुपैयाँ छ । गत आव ०८०/८१ सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
उच्च मूल्यका कारण कम्पनीको शेयर कारोबार पनि कम कित्ता नै हुने गरेको तथ्यांक छ । असोज ९ गते कम्पनीको ४० कित्ता शेयर २० लाख ३ हजार रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भएको छ ।
उच्च मूल्यका कारण कम्पनीको शेयर कारोबार पनि कम हुने गरेको बजार सञ्चालकहरू बताउँछन् । गत आव २०८०/८१ मा युनिलिभरको २४ हजार ६४५ कित्ता शेयर कारोबार भएको नेप्सेले सार्वजनिक गरेको तथ्यांकले प्रस्ट्याउँछ । उक्त कित्ता शेयर ९८ करोड २४ लाख रुपैयाँमा कारोबार भएको हो । गत आवको कारोबारमा कम्पनीको शेयरमूल्य अधिकतम ४९ हजार २५० पुगेको थियो भने न्यूनतम मूल्य ३२ हजार ३३८ रुपैयाँ १० पैसासम्म कायम भएको थियो । एक वर्षमा कम्पनीको शेयर कारोबार २१३ दिनमात्र भएको नेप्सले जानकारी दिएको छ ।
कात्तिक १२ गते साधारणसभा
युनिलिभर नेपाल लिमिटेडले प्रस्तावित लाभांश पारित गर्न कात्तिक १२ गते वार्षिक साधारणसभा गर्ने जानकारी दिएको छ ।
साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २८ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने मिति तोकेको छ । बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गरेको सूचनामा साधारणसभा गर्ने स्थान र समय भने उल्लेख गरिएको छैन ।