काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशलमव ८३ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ५९५ दशमलव ९६ विन्दुमा कायम भएको छ ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा आज घटेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब ६५ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब ८२ करोड बराबरको कारोबार भएको हो ।
लगानीकर्ता अझै बजारप्रति सकारात्मक नभएको र ‘पर्ख र हेर’कै अवस्थामा रहेकाले बजार केही सुस्त देखिएको जानकारहरू बताउँछन् । यद्यपि, निरन्तर घटेको ब्याजदर र बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले बजारमा विस्तारै सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ ।
बैंकहरूले भने माघका लागि ब्याजदर बढाएका छैनन् । २ ओटाले ब्याजदर थप घटाएका छन् भने अन्यले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यसआधारमा पनि समग्रमा अहिले ब्याजदर निकै सस्तो छ । तर, कर्जा प्रवाह बढ्न सकेको छैन । अन्य कर्जाको तुलनामा शेयर कर्जा लिनेहरू भने धेरै छन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४० प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत वृद्धि भएको छ ।
२९९ धितोपत्रको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर ६३ हजार ३७४ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७८४ दशमलव ६० पुगेको छ । दोस्रोमा सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ८१ प्रतिशत बढेर रू. १ हजार ६५७ पुगेको छ ।
बुधवार न्यादी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८५ मा झरेको छ । त्यस्तै दोस्रोमा पोखरा फाइनान्सको शेयर मूल्य ९ दशमलव ०५ प्रतिशत घटेर रू. ४८१ दशमलव १० कायम भएको छ ।
आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले अोगटेको छ । यस कम्पनीको रू. ३२ करोड ४९ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १८७ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सुपर मादी हाइड्रोपावर छ । कम्पनीको रू. ३० करोड ८८ लाख बराबरको शेयर कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये सात समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये जलविद्युत् समूहको सूचक सबैभन्दा बढी १ दशलमव ७६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै होटल तथा पर्यटन समूहको १ दशमलव ६३ प्रतिशत र विकास बैंक समूहको १ दशलमव ०८ प्रतिशत वृद्धि भएको छ । वित्त समूहको सूचक भने सबैभन्दा बढी ३ दशमलव ४८ प्रतिशत घटेको छ ।