काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।
आइतवार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले आईपीओ निष्कासन गर्ने कित्ता भने खुलाएको छैन । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
“माटोदेखि सफलतासम्म” भन्ने यसको मूल नाराका साथ २०८१ वैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरण र कृषक सशक्तीकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको स्थापना भएको हो । कम्पनीले कृषिलाई सजायको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
कम्पनीले कृषिको ई–कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापना जस्ता महत्त्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ । दीर्घकालीन लक्ष्यहरूलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ ।
भक्तपुरको लोकन्थलीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढी प्रभावकारी सेवा दिने कम्पनीको योजना छ ।
शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरणलगायत कार्य गर्नेछ । अधिकृत पूँजी रु. ५० करोड रहेको कम्पनीको जारी पूँजी रु. २५ करोड छ । कम्पनीको जारी पूँजी रु. ५० करोड जारी पूँजी पुर्याउने योजना छ । यस कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापक आवद्ध भइसकेका छन् ।