काठमाडौं । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह-आयोजनामा, १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८१ आगामी पुष ११ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ।
२०५५ सालदेखि शुरू भएको यो महोत्सव कोरोना महामारीका कारण तीन वर्षसम्म रोकिएको थियो। तर, गत वर्षदेखि पुनः सञ्चालनमा आएको महोत्सवले महामारी र आर्थिक मन्दीबाट प्रभावित सौराहाको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
आयोजकका अनुसार महोत्सवका कारण प्रत्येक वर्ष पर्यटकको आगमनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने गरेको छ। यस वर्षको महोत्सवले प्लास्टिकजन्य पदार्थलाई निरुत्साहित गर्दै डिजिटल प्रविधिको प्रयोगमार्फत प्रचार-प्रसार गर्ने योजना समेत अघि सारेको छ।
महोत्सवको मुख्य आकर्षणमा निजी र सरकारी स्वामित्वका गरी ८० ओटा हात्तीको सहभागिता रहनेछ। यो महोत्सवले पर्यटकहरूलाई आकर्षित गर्दै चितवनको पर्यटन व्यवसायलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।
विश्व सम्पदामा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको चितवन सौराहा जैविक विविधता र वन्यजन्तुको पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छ।