काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २ हजार ७२२ दशमलव ७३ विन्दुमा बन्द भएको छ । पछिल्लो समय नेप्से परिसूचक सात कारोबार दिन २ हजार ७०० विन्दु तलनै रहेको थियो । लगानीकर्ताको उत्साह बढ्दा पुनः नेप्सेले २ हजार ७०० विन्दु पार गरेको हो । बिहीवार २ हजार ७४० दशमलव १३ विन्दुसम्म पुगेको नेप्से २ हजार ६९७ दशमलव ६३ विन्दुसम्म झरेको थियो ।
पछिल्लो समय लगानीकर्ताको उत्साह देख्दा बजार सकारात्मक गतिमा अघि बढ्ने विश्वास ब्रोकरहरूले गरेका छन् । कारोबार रकमलाई हेर्दा निष्क्रिय रुपमा बसेका लगानीकर्ता सक्रिय हुन थालेको बुझाई ब्रोकरहरूको छ ।
बिहीवार १८७ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ । यो दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम समेत बढेको छ । बुधवार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा बिहीवार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो । कुल कारोबार रकममा सर्वाधिक हिस्सा हिमालयन पावर पार्टनरको रहेको छ । हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता १ रुपैयाँ ९९ पैसा घटेर अन्तिम मूल्य ६६० रुपैयाँ कायम भएको छ ।
बिहीवार कुल बजार पूँजीकरण ४५ खर्च २६ अर्ब २३ करोड २२ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । बुधवार कुल बजार पूँजीकरण ४४ खर्ब ८२ अर्ब १८ करोड ११ लाख रुपैयाँभन्दा बढी कायम थियो । बजार बढेसँगै कुल बजार पूँजीकरण समेत बढेको हो ।
यस दिन व्यापारिक समूहबाहेक सबै समूहगत परिसूचक हरिया बनेका छन् । बैंकिङको १ दशमलव १४ प्रतिशत, विकास बैंकको १ दशमलव ३५ प्रतिशत, वित्तको शून्य दशमलव ७२ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ३९ प्रतिशत, जलविद्युतको १ दशमलव १३ प्रतिशत, लगानीको २ दशमलव ९९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९६ प्रतिशत, अन्यको शून्य दशमलव ३७ प्रतिशत परिसचक बढेको हो । यो दिन व्यापारिक समूहको परिसूचक भने शून्य दशमलव १५ प्रतिशत घटेको छ ।