काठमाडौं । नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता २ हजार १५४ रूपैयाँ शेयरमूल्य रहेको यो कम्पनीको पछिल्लो कारोबार दिन शेयरमूल्य सर्किट लेभलमा बढ्यो ।
तर, कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्ष (०७९/८०)को तुलनामा गत वर्ष १० प्रतिशतले खुद नाफा घटेको देखिएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ हरोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष १ करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष इम्पेरमेन्ट चार्ज वापत्को २ करोड ५० लाख रूपैयाँभन्दा बढी रकम फिर्ता पाएको कम्पनीले पछिल्लो आर्थिक वर्ष भने इम्पेरमेन्ट चार्ज वापत् ६२ लाख ५८ हजार रूपैयाँ छुट्याएको छ ।
इम्पेरमेन्ट चार्ज वापत्को रकम छुट्याउनु परे पनि गत वर्ष कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा बढी भएकाले सञ्चालन नाफा भने बढेको देखिन्छ । अघिल्लो वर्ष १३ करोड ७९ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन आम्दानी गत वर्ष १४ करोड ६१ लाख रूपैयाँभन्दा बढी भएको हो । सञ्चालन नाफा बढेको कम्पनीको गत वर्ष २ करोड ५८ लाख रूपैयाँ कर खर्चका कारण खुद नाफा घटेको हो । खुद नाफामै रहेको कम्पनीको वितरणयोग्य नाफा भने २० करोड ८२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ ।
हाल कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख ६ हजार रूपैयाँ छ । शेयर प्रिमियममा ५ करोड १० लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम भने ४३ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीको निक्षेप संकलन ४१ दशमलव ४४ प्रतिशत बढी भएको छ भने कर्जा प्रवाह करिब ५५ प्रतिशत बढेको छ । कम्पनीले १२ महिनामा गत वर्ष २ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । २ अर्ब १ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जातर्फ अघिल्लो वर्ष १२ दशमलव १६ प्रतिशत रहेकोमा गत वर्ष घटेर ९ दशमलव ११ प्रतिशत कायम छ । प्रतिशेयर आम्दानी २ रूपैयाँ ४८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रूपैयाँ ५२ पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस