काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस दिन नेप्से १ दशमलव ०८ प्रतिशत बढेर २ हजार १७५ दशमलव ४० विन्दुमा पुगेको हो ।
पछिल्लो आठ कारोबार दिनमा नेप्से परिसूचक एक दिन सामान्य अंक घटेको छ भने बाँकी दिन बढेको छ । यस्तै, दैनिक खरीदविक्री रकममा पनि वृद्धि भइरहेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएको खबर सार्वजनिक भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व, आर्थिक सुधारसँगै पूँजी बजारमा पनि नीतिगत सुधार हुने लगानीकर्ताको अपेक्षा छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति तय गर्ने अनुमान भइरहेका छन् । विशेषगरी नीतिगत गाँठा फुकाउने र कर्जा प्रवाह बढाउने गरी मौद्रिक नीति आउने विश्लेषण भइरहेका छन् । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
बुधवार सेन्सेटिभ इन्डेक्स १ दशलमव २६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव १३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १ दशलमव ३३ प्रतिशत वृद्धि भएको छ । ३२२ धितोपत्रको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर ७२ हजार ७१४ पटकमा रू. ५ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये बलेफी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३८३ दशमलव २० पुगेको छ । त्यसपछि ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्रको मूल्य ८ दशमलव ६६ प्रतिशत बढेर रू. १ हजार १९६ दशमलव ४० पुगेको छ ।
बुधवार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६६७ दशमलव ८० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रहेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशत घटेर रू. ३ हजार ७३ मा झरेको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हाथवे इन्भेष्टमेन्ट नेपालले ओगटेको छ । यस कम्पनीको रू. १५ करोड ८ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २३ दशमलव ५० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा जानकी फाइनान्स कम्पनीको रू. १४ करोड ८२ लाख बराबरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव २९ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये लघुवित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ५४ प्रतिशत वृद्धि भएको छ ।