काठमाडौं । चालु आर्थिक वर्षको कूल सार्वजनिक ऋण रु २५ खर्ब १८ अर्ब ५ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले सार्वजनिक गरेको चालू आवको कार्तिक मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार ८३ अर्ब ९५ करोड ऋण थप भएको छ । चालू आवको शुरुमा कूल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब ९ करोड रहेको थियो । यो ऋण देशको कुल गार्हस्थ उत्पादनको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।
असोज मसान्तसम्मको तुलनामा विनिमय दरमा भएको परिवर्तनले सार्वजनिक ऋण वृद्धिदरमा भने कमी आएको छ ।
चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा कार्तिक मसान्त सम्ममा रु १ खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्ति भएको छ । यो कुल सार्वजनिक ऋण प्राप्तिको वार्षिक लक्ष्यको तुलनामा ३० दशमलव ३० प्रतिशत हो । जसमध्ये प्राप्तिको हिस्सा आन्तरिक ऋण ४३ दशमलव ६४ र बाह्य ऋण १० दशमलव ०१ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा रु ४ खर्ब २ अर्ब बजेट विनियोजन भएकोमा कार्तिक मसान्तसम्म १ खर्ब ८ अर्ब १४ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २६ दशमलव ८४ प्रतिशत हो । कूल गार्हस्थ उत्पादनको आधारमा कार्तिक मसान्त सम्ममा कूल ऋण सेवा खर्च १ दशमलव ९० प्रतिशत रहेको छ।