काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८१ पुष मसान्तसम्मको सार्वजनिक ऋण प्रतिवेदन अनुसार नेपालको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्व १३ करोड पुगेको छ । यो ऋण चालु आर्थिक वर्षको शुरुमा कूल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्व ९ करोड रहेको थियो । प्रतिवेदन अनुसार पुष मसान्त सम्ममा रु १ खर्ब २ अर्ब ३ करोड थप वृद्धि भएको छ ।
यो ऋण कूल गार्हस्थ उत्पादनको ४४.४६ प्रतिशत हुन आउँछ । यस आर्थिक वर्षको पुष मसान्तसम्म विनिमय दरमा भएको परिवर्तनले १ खर्ब १९ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्वको वृद्धिमा प्रभाव परेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कुल सार्वजनिक ऋणमा पुष मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.३१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.६८ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा पुष मसान्त सम्ममा रु २ खर्ब ४० अर्ब ८ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ४३.८९ प्रतिशत रहेको छ। जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको हिस्सा क्रमश: ५४.८६ र २७.२० प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा रु ४ खर्व २ अर्व ८५ करोड बजेट विनियोजन भएकोमा पुष मसान्तसम्म रु १ खर्ब ८२ अर्ब ४० करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४५.२८ प्रतिशत हो। कूल गार्हस्थ उत्पादनको आधारमा पुष मसान्त सम्ममा कूल ऋण सेवा खर्च ३.२० प्रतिशत रहेको छ ।