काठमाडौं । चालु आर्थिक वर्ष २०८१ को पहिलो त्रैमास सम्ममा नेपालको सार्वजनिक ऋण बढेको छ ।
अर्थमन्त्रालय अन्तरगतको सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आश्विन मसान्त सम्ममा रु ८८ अर्ब ९३ करोड थप वृद्धि भई कूल सार्वजनिक ऋण रु २५ खर्ब २३ अर्ब ३ करोड पुगेको छ । जुन कूल गार्हस्थ उत्पादनको ४४.२३ प्रतिशत हुन आउँछ । चालु आर्थिक वर्षको शुरुमा कूल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब ९ करोड रहेको थियो ।
विनिमय दरमा भएको परिवर्तनले भादौ मसान्तसम्मको तुलनामा असोज महिनामा भने ५ अर्ब ५८ करोड सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा जम्मा रु ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा आश्विन मसान्त सम्ममा रु १ खर्ब ३६ अर्ब ३२ करोड ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २४.९२ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको हिस्सा क्रमश: ३४.८५ र ९.८२ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा रु ४ खर्ब अर्ब बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म रु ८३ अर्ब ७ करोड ८१ लाख भुक्तानी भएको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा २०.६२ प्रतिशत हो । कूल गार्हस्थ उत्पादनको आधारमा आश्विन मसान्त सम्ममा कूल ऋण सेवा खर्च १.४६ प्रतिशत रहेको छ ।
वैदेशिक ऋण प्राप्ति तर्फ प्राप्त भैसकेको मात्रै अभिलेख राखिएकोले प्रतिवेदन पश्चात प्राप्त भएको वितरण पत्रको अभिलेख प्रविष्ट गर्दा प्रतिवेदनमा उल्लेख गरिएको मासिक बाह्य ऋण प्राप्ति फरक पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, २०८१ वैशाख १८ गते राष्ट्रिय तथ्याङ्क कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा सम्बन्धी वार्षिक तथ्याङ्कहरुको प्रकाशित कुल ग्राहस्थ उत्पादनलाई तुलनाको आधार बनाएर प्रतिवेदन तयार पारिएको कार्यलयले जनाएको छ ।