काठमाडौं । नेप्से परिसूचक २ हजार ७०० विन्दु तल झरेको छ । बिहीवार २ हजार ७१३ दशमलव ८८ विन्दुदेखि खुलेको बजार २ हजार ७२० दशमलव ४८ विन्दुसम्म पुगेको थियो । यो दिन नेप्से २ हजार ६९१ दशमलव ५६ विन्दुसम्म झरेर अन्तिममा २ हजार ६९९ दशमलव ८१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशत अर्थात ११ दशमलव ६४ अंकले घटेको हो । नेप्सेको तथ्यांकलाई हेर्दा पछिल्ला तीन कारोबार दिन बजार लगातार घटिरहेको छ ।
तीन कारोबार दिन लगातार बजार घटेको अवस्थामा अन्तिम कारोबार दिनमा भने कारोबार रकम बढेको छ । यस अघिका दुई कारोबार दिन करिब ९ अर्ब रुपैयाँको कारोबार भएकोमा बिहीवार ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको २ करोड ८६ लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा साहस उर्जा लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँभन्दा बढीको ६ लाख १४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ रुपैयाँ ६० पैसाले बढेर अन्तिम मूल्य ५०७ रुपैयाँ ९० पैसा कायम भएको छ । बिहीवार कारोबारमा आएका कम्पनीमध्ये १६० कम्पनीको धितोपत्र मूल्य घटेको छ भने ७४ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यो दिन ९ कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ । यस दिन अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्रा ५७ रुपैयाँ ३० पैसाले बढेर अन्तिम मूल्य ६३० रुपैयाँ ३० पैसा कायम भएको हो ।
बिहीवार उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशत घटेको छ । उपकार लघुवित्तको प्रतिकित्ता ६६० रुपैयाँले घटेर अन्तिम शेयरमूल्य ५ हजार ९४० रुपैयाँ कायम भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता २२२ रुपैयाँ ६० पैसाले घटेर अन्तिम मूल्य २ हजार ४ रुपैयाँ १० पैसा कायम भएको छ ।
यस दिन वित्त समूहको परिसूचक १ दशमलव ५८ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । बैंकिङको शून्य दशमलव ३४ प्रतिशत परिसूचक घट्दा विकास बैंकको १ दशमलव ५३ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३७ प्रतिशत, लगानीको शून्य दशमलव ३९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४० प्रतिशत, लघुवित्तको शून्य दशमलव ५९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ६० प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४९ प्रतिशत, अन्यको शून्य दशमलव ८९ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको हो ।
कुल बजार पूँजीकरण ४४ खर्ब ७९ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार कुल बजार पूँजीकरण १९ अर्ब ३१ करोड ८२ लाख रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन बुधवार कुल बजार पूँजीकरण ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।