अर्थतन्त्रको ऐनाका रूपमा रहेको यसको व्यष्टि तथ्यांकले नेपालको अर्थतन्त्रको दिशा निर्धारण गर्ने गर्छ । वस्तुको मूल्य, वैदेशिक व्यापार, वित्त तथा बैंकिङ तथा दोस्रो बजारको समग्र अवस्थाले मुलुकको अर्थतन्त्रको स्वास्थ्य उजागर गर्छ । नेपाल राष्ट्र बैंकबाट प्रकाशित नेपालको अर्थतन्त्रको अर्धवार्षिक वस्तुस्थितिले केही विशिष्ट संकेत गरेका छन् । चालू आर्थिक वर्ष (आव) २०८१ को प्रथम ६ महीनामा विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा गत आवको सोही महीनाको तुलनामा वृद्धि भई ५ दशमलव ४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ५ दशमलव २६ प्रतिशत रहेको थियो । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीतिमा वृद्धि भई ७ दशमलव ६७ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीतिमा सामान्य सुधार आई ४ दशमलव १९ प्रतिशत पुगेको देखिन्छ । समीक्षा महीनामा तरकारी तथा घ्यू तथा तेलको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दोहोरो वृद्धि भई अंकमा रही क्रमश: २८ दशमलव ५२ प्रतिशत, १० दशमलव ६७ प्रतिशत पुगेको छ । जनताको दैनिक जीवनयापनका रूपमा रहेको दाल तथा गेडागुडी एवम् खाद्य तथा खाद्यजन्य पदार्थको बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पनि लगभग दोहोरो अंकको नजिक रही क्रमश: ९ दशमलव ४८ प्रतिशत र ७ दशमलव २३ प्रतिशत पुगेको छ ।
चालू आवको प्रथम ६ महीनाको अवधिमा मुलुकको समग्र वैदेशिक व्यापारमा पनि सुधार आएको छ । वैदेशिक व्यापार आव २०८१/८२ को ६ महीनामा कुल वस्तु निर्यात ३१ दशमलव ८ प्रतिशतले वृद्धि भई रू.९८ अर्ब ७९ करोड पुगेको छ जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७ दशमलव २ प्रतिशतले कमी आएको थियो । नेपालको निर्यातका प्रमुख गन्तव्य भारत, चीन र अन्य मुलुकहरूतर्फको निर्यातमा क्रमश: ४६ दशमलव १ प्रतिशत, १९ दशमलव ७ प्रतिशत र १ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ । सोयाबिन तेल, चिया, धागो, अलैंची प्लाइउड, वस्तुहरूको निर्यातमा भएको वृद्धिका कारण यस्तो वृद्धि सम्भव भएको हो ।
अर्थतन्त्रको स्वास्थ्यको एउटा मापनका रूपमा रहेको विनिमय दर २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २ दशमलव ८३ प्रतिशतले अवमूल्यन भएको छ ।
समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा ठूलो परिमाणमा वृद्धि भई रू. १८ अर्ब ९१ करोड पुगेको छ । फलाम तथा तिनका उत्पादनको निर्यातमा २० दशमलव ८ प्रतिशतले ह्रास आई रू. ७ अर्ब २० करोडमा झरेको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा २३ दशमलव ५ प्रतिशतले वृद्धि भई रू. ६ अर्ब ८८ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ७ दशमलव ३ प्रतिशतले वृद्धि भई रू. ५ अर्ब ६१ करोड पुगेको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा ५ दशमलव ६ प्रतिशतले ह्रास आई रू. ४ अर्ब ६९ करोड पुगेको छ । प्लाइउडको निर्यातमा २० दशमलव ४ प्रतिशतले वृद्धि भई रू. ४ अर्ब २५ करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा ८ दशमलव ४ प्रतिशतले ह्रास आई रू. ३ अर्ब २७ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा जुसको निकासीमा ९ दशमलव २ प्रतिशतले ह्रास आई रू. ३ अर्ब ४५ करोडमा झरेको छ । । यसैगरी अर्को प्रमुख निर्यातक वस्तु ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा ६ दशमलव ७ प्रतिशतले वृद्धि भई रू. २ अर्ब ६४ करोड पुगेको छ । समीक्षा अवधिमा सूर्यमुखी तेलको निर्यातमा भारी वृद्धि भई रू. ४ अर्ब ९८ करोड पुगेको छ ।
समीक्षा अवधिमा वस्तु आयात ७ दशमलव १ प्रतिशतले वृद्धि भई रू. ८ खर्ब २२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३ दशमलव १ प्रतिशतले कमी आएको थियो । नेपालको आयातका प्रमुख स्रोतक्षेत्रहरू भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमश: ५ दशमलव ९ प्रतिशत, ८ दशमलव ९ प्रतिशत र ९ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ । कच्चा भटमास तेल, खाद्यान्न, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेललगायतका वस्तुको आयात बढ्दा यस्तो वृद्धि हुन गएको हो ।
पैठारीतर्फ समग्रमा आव २०८१/८२ को प्रथम ६ महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ६ दशमलव ६४ प्रतिशतले ह्रास आई रू. १३१ दशमलव ९६ अर्बमा झरेको छ । समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा ४ दशमलव २८ प्रतिशतले वृद्धि भई रू. ७९ दशमलव ७५ अर्ब पुगेको छ । मेशिनरी तथा पार्ट्समा १२ दशमलव ८१ प्रतिशतले वृद्धि भई रू. ५४ दशमलव २३ अर्ब पुगेको छ । कच्चा भटमास तेलको आयातमा २१२ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भई रू. २४ दशमलव ३७ अर्ब पुगेको छ । समीक्षा अवधिमा औषधिको आयातमा ६ दशमलव ४८ प्रतिशतले वृद्धि भई रू. २१ दशमलव २५ अर्बमा सीमित भएको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूमा ४ दशमलव ० प्रतिशतले वृद्धि भई रू. ३३ दशमलव ९६ अर्बमा पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा ३२ दशमलव ०९ प्रतिशतले वृद्धि भई रू. ४७ दशमलव ९७ अर्ब पुगेको छ । कच्चा पाम तेलको आयातमा ५५ दशमलव ७८ प्रतिशतले ह्रास आई रू. २ अर्ब ८६ करोडमा सीमित भएको छ । अन्नको आयातमा २३ दशमलव ६४ प्रतिशतले वृद्धि भई रू. १८ दशमलव ७२ अर्ब पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयातमा १३ दशमलव ४४ प्रतिशतले वृद्धि भई रू. २७ दशमलव ४८ अर्ब पुगेको छ । दूरसञ्चारका सामग्रीको आयातमा ७ दशमलव २९ प्रतिशतले वृद्धि भई रू. २० दशमलव ७४ अर्ब पुगेको छ । सुनको आयातमा ४३ दशमलव ५४ प्रतिशतले ह्रास आई रू. ६ दशमलव ७१ अर्बमा झरेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ दशमलव शून्य प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ८ प्रतिशत रहेको थियो ।
मुलुकको अर्थतन्त्रको ऐनाका रूपमा रहेको बृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ४० दशमलव ४ प्रतिशत र ५८ दशमलव ८ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात शून्य दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ५५ दशमलव ९ प्रतिशत, शून्य दशमलव २३ प्रतिशत र ४३ दशमलव ९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५० दशमलव २ प्रतिशत, पूँजीगत वस्तुको अनुपात ८ दशमलव ८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव शून्य प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमश: ४९ दशमलव २ प्रतिशत, ८ दशमलव ७ प्रतिशत र ४२ दशमलव १ प्रतिशत रहेका थिए ।
विगतमा नेपालको वैदेशिक व्यापारमा महत्त्वपूर्ण योगदान दिँदै आएको सेवा व्यापारतर्फ विगत केही समययता व्यापारघाटाको अवस्था सृजना हुन गएको छ । यसै सिलसिलामा समीक्षा अवधिमा खुद सेवा आय रू. ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रू. ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । शिक्षासेवामा ठूलो आयात हुन जाँदा यस्तो अवस्था सृजना हुन गएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू. ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. ५८ अर्ब ९५ करोड रहेको थियो ।
मुलुकको अर्थतन्त्रको अर्को प्रमुख मेरूदण्ड मानिएको विप्रेषण आप्रवाह ४ दशमलव १ प्रतिशतले वृद्धि भई रू. ७६३ अर्ब ८ करोड पुगेको छ । देशको आयातनिर्यात तथा विप्रेषणलाई आधार मानी हेर्दा चालू आवको प्रथम ६ महीनाको अवधिमा चालू खाता रू. १४८ अर्ब १७ करोडले बचतमा रहेको छ । परिणामस्वरूप २०८१ असार मसान्तमा रू. २० खर्ब ४१ अर्ब बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १३ दशमलव ५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा रू. २३ खर्ब १७ अर्ब पुगेको छ ।
अर्थतन्त्रको दिगो विकास प्राप्त गर्न मुलुकको करप्रणालीमा सुधार, विद्यमान भीमकायी आकारको कर्मचारीतन्त्रको आकार कटौतीसहित प्रशासनिक सुधार र निर्यातसम्बद्ध सार्वजनिक र निजीक्षेत्रका संस्थाहरूको सुदृढीकरणमा विशेष ध्यान जानु आवश्यक देखिन्छ ।
अर्थतन्त्रको स्वास्थ्यको अर्को मापनका रूपमा रहेको विनिमय दर पनि हो । सारमा भन्नुपर्दा २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २ दशमलव ८३ प्रतिशतले अवमूल्यन भएको छ । अर्थतन्त्रको स्वास्थ्यको अर्को मापनमा सरकारी वित्त पनि रहने गरेको छ । आव २०८१/८२ को ६ महीनामा नेपाल सरकारको कुल खर्च रू. ६६७ अर्ब ६० करोड रहेको छ जसमा पूँजीगत खर्च रू.५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च रू.१५८ अर्ब ६६ करोड रहेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा गतवर्षको सोही अवधिको तुलनामा ५ दशमलव २ प्रतिशतले वृद्धि भई रू.२ खर्ब ६६ अर्ब पुगेको छ । वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ दशमलव ४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७ दशमलव ७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४ दशमलव ८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५ दशमलव ७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ दशमलव ७ प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा ५ दशमलव ८ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ० दशमलव ०२ प्रतिशतले बढेको छ । यी आँकडाले मुलुकमा आर्थिक गतिविधिहरू बढ्न सक्ने अवस्था देखिएको छ ।
सारमा भन्नुपर्दा मुलुकको कुल आयातमा मध्यवर्ती वस्तु (कच्चापदार्थ)को आयातमा ९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ भने पूँजीगत वस्तुको आयातमा समेत ९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । यस आँकडाले बाँकी ६ महीनामा मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा जाने देखिन्छ । मुलुकको कुल वस्तु आयातमा पूँजीगत र मध्यवर्ती वस्तुको हिस्सा ५९ प्रतिशत रहनुले पनि अर्थतन्त्र सकारात्मक दिशामा जाने संकेत गर्दछ । यो आँकडा समीक्षा अवधिमा करिव ५८ प्रतिशत रहेको थियो । निर्याततर्फ मध्यवर्तीवस्तुको हिस्सा ४० दशमलव ८ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको निर्यातको अंश ५८ दशमलव ८ प्रतिशत रहनुले अर्थतन्त्रमा अर्को सकारात्मक सन्देश गएको छ । यो आँकडा गत आवको सोही अवधिको तुलनामा ४३ दशमलव ९ प्रतिशत मात्र रहेको थियो । यसरी कच्चापदार्थ र मेशिनरीको आयातमा वृद्धि र अन्तिम उपभोग्य वस्तुको निर्यातमा वृद्धि हुन जाँदा मुलुकमा म्यानुफ्याक्चरिङ क्षेत्रका गतिविधिहरूमा वृद्धि भएको सहजै अनुमान लगाउन सकिन्छ ।
उपर्युक्त सकारात्मक परिस्थितिमाझ केही आधारभूत सुधारहरू गर्न सकेको खण्डमा वर्तमान सकारात्मक संकेतहरू मुलुकको आर्थिक विकासको स्थायी भावका रूपमा प्रकट हुने देखिन्छ । उपर्युक्त बमोजिम अर्थतन्त्रको दिगो विकास प्राप्त गर्न (क) मुलुकको करप्रणालीमा सुधार, (ख) विद्यमान भीमकायी आकारको कर्मचारीतन्त्रको आकार कटौतीसहित प्रशासनिक सुधार र निर्यातसम्बद्ध सार्वजनिक र निजीक्षेत्रका संस्थाहरूको सुदृढीकरणमा विशेष ध्यान जानु आवश्यक देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।