आइतवार बेलुका नेपालका अत्यधिक इन्टरनेट अकस्मात् बन्द भए । किन बन्द भयो भन्ने कुरा इन्टरनेट सेवा प्रदायकले सही सूचना पनि दिएनन् । सूचना नदिएको मात्र होइन दुई फरक फरक कुरा पनि समाचारमा आए । कहीं पनि इन्टरनेट सञ्चालन नहुँदा त्यसको आर्थिक क्षति कति भयो भन्ने अध्ययन भएको छैन न त त्यसबाट परेको असरबारे नै चर्चा भयो । तर, यसले एउटा गम्भीर प्रश्न उठाएको छ : कथंकदाचित् भारतले नेपाल आउने इन्टरनेट बन्द गरिदियो भने के होला ?
आइतवार इन्टरनेट बन्द हुनुमा फरक फरक दाबी छ । नेपाल टेलिकमका अनुसार एयरटेल लिमिटेडको उत्तर प्रदेशस्थित फरेन्दार कोल्हुहीबजार क्षेत्रका २ स्थानमा अप्टिकल फाइबर तार चुँडिन गई नेटवर्कमा समस्या उत्पन्न भएको हो । नेपाल टेलिकमको सेवा मात्र होइन, सबैजसो इन्टरनेट सेवा प्रदायकहरूको सेवा अवरुद्ध भएको थियो ।
कतिपय इन्टरनेट सेवा प्रदायकहरूको संस्थाले भने भारतलाई ब्रोडब्यान्ड खरीद वापतको भुक्तानी नदिँदा एयरटेलले इन्टरनेट बन्द गरिदिएको हुनसक्ने पनि बताएका छन् । रोयल्टी र ग्रामीण दूरसञ्चार सेवा शुल्क नतिरेको कारण सरकारले विदेशी मुद्रा सटही सुविधा नदिँदा उनीहरूले भारतीय कम्पनीहरूलाई भुक्तानी गर्न नसकेका हुन् । एयरटेल लिमिटेडले मात्र नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई ६० देखि ७० प्रतिशत ब्यान्डविथ उपलब्ध गराउने गरेको सेवाप्रदायकहरू बताउँछन् । भारतका अन्य कम्पनीहरू जस्तै टाटा स्काईबाट पनि नेपाली इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद गर्छन् । यसरी हेर्दा मूलत? नेपाल भारतीय कम्पनीहरू र त्यसमा पनि एअरटेलमा बढी निर्भर रहेको स्पष्ट छ ।
कुनै विवादका कारण भारतले इन्टरनेट सेवा रोकिदियो भने के होेला ? सूचना प्रविधि अहिलेको विश्वमा निकै ठूलो हतियार हो । यो हतियार जतिबेला पनि प्रयोग हुन सक्छ । तर, नेपाल अहिले करीब करीब ब्यान्डविथका लागि भारतसँग पूरा निर्भर छ । त्यसको यसको विकल्प खोज्नु पर्छ ।
विगतमा सरकारले विकल्प खोज्ने प्रयास नगरेको होइन । नेपाल टेलिकमले २०७४ पुस २८ गते चीनबाट व्यावसायिक रूपमा ब्यान्डविथ आयात शुरू गरेको थियो । त्यसअघि भारतमा मात्र निर्भर ब्यान्डविथ आयातको विकल्प खोज्दै रसुवाको केरुङ नाका हुँदै चीनसँग इन्टरनेटमार्फत नेपाल जोडिएको थियो । चीनबाट ब्यान्डविथ आयात गर्दा भारतबाट ल्याइएको भन्दा तुलनात्मक रूपमा बढी गतिसहितको हुने बताइएको थियो । तर, चीनबाट ब्यान्डविथ आयातको परिमाण बढाउन पहल भएको देखिँदैन । जमीनबाट ब्यान्डविथ लिनेबाहेक अहिले सोझै स्याटेलाइटबाट पनि इन्टरनेट प्राप्त हुन सक्छ । नेपालमा स्टारलिंकले स्याटेलाइटबाट इन्टरनेट सेवा दिने मनसाय देखाइरहेको समाचार आएको छ । यसमा पनि आवश्यक अध्ययन गरेर यसलाई स्वीकृति दिन सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र स्टारलिंकमा मालिक एलन मस्कबीच हालै भिडियो संवाद पनि भएको थियो ।
ब्यान्डविथको मूल्य प्रविधिको गुणस्तरमा भर पर्ने भएकाले एकीकृत मूल्य नहुने भएपनि प्रतिस्पर्धी बन्ने हुनाले चीन र भारत र सम्भव भए अन्य देशबाट पनि ब्यान्डविथ लिनुपर्छ । त्यस्तै अन्य प्रविधिबाट पनि इन्टरनेट सुचारु गराउन सरकार तयार हुनुपर्छ । विभिन्न स्रोतबाट ब्यान्डविथ ल्याउन सकिए मूल्यमा प्रतिस्पर्धा त हुन्छ नै साथै यसले कुनै एक देशको निर्भरता अन्त्य गर्छ । चीनका सेवाप्रदायकबाट पनि ब्यान्डविथ ल्याएपछि मूल्य घट्न सक्छ र त्यसबाट उपभोक्ताले पनि लाभ पाउन सक्छन् ।
इन्टरनेट अहिलेको समयमा नाना र खानाजत्तिकै महत्त्वपूर्ण बनिसकेको छ । यो विना दैनन्दिन जीवन चल्न नसक्ने अवस्था आइसकेको छ भने व्यापार व्यवसायदेखि उपचारसम्म इन्टरनेट अनिवार्य भइसकेको छ । त्यसैले यो रणनीतिक हतियार बन्न सक्छ । । अहिलेको डिजिटल युगमा इन्टरनेट र डेटा राष्ट्रिय सुरक्षाको लागि महत्त्वपूर्ण छ । त्यसैले यसमा जोखिम विविधीकरण अत्यावश्यक छ ।